काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बसुन्धरास्थित वि.पी. स्मृति अस्पताललाई फोहर व्यवस्थापनमा लापरबाही गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना र फोहर संकलन रोक्का गर्ने निर्णय गरेको छ।
अस्पतालले हानिकारक फोहरको निर्मलीकरण नगरी सामान्य फोहरमा मिसाएको, अटोक्लेभ नगरेको अवस्थामा फोहर राखेको र अस्पताल परिसरमै दुर्गन्ध फैलिने गरी फोहर जमाएको पाइएको हो।
स्थानीयवासीको गुनासोपछि महानगरको कल सेन्टरले केस नम्बर ३४,१३५ मा उजुरी दर्ता गरी वातावरण व्यवस्थापन विभागमार्फत अनुगमन गरिएको थियो। अनुगमन टोलीमा विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जन, वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधि सहभागी थिए।
टोलीले अस्पतालको अटोक्लेभ कक्ष अवलोकन गर्दा सानो कोठामा राखिएको अटोक्लेभ मेसिन धुलाम्य अवस्थामा भेटिएको थियो। अस्पतालका डेपुटी म्याट्रन भाइकुमारी गुरुङ्ले दैनिक ५ किलोग्रामसम्म हानिकारक फोहर अटोक्लेभ गरेर निर्मलीकरण गरिने दाबी गरे पनि टोलीले पत्याएन। निरीक्षणका क्रममा अटोक्लेभ गरिएको भनिएको फोहर आलो र बिना रङ परिवर्तनको अवस्थामा भेटिएको थियो। टोलीले फोहरबाट तीव्र दुर्गन्ध आएको पनि पुष्टि गरेको छ।
महानगरपालिकाले अस्पताललाई वातावरणीय मापदण्ड पालना नगरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ। साथसाथै, ‘हिमालयन प्रा.लि’ मार्फत हुने फोहर संकलन पनि रोक्का गरिएको छ।
स्वास्थ्य संस्थाबाट निस्कने हानिकारक फोहरको उचित वर्गीकरण, सुरक्षित ढुवानी, भण्डारण र निर्मलीकरण सुनिश्चित गर्न ऐनले व्यवस्था गरेको छ। यस्ता फोहर जथाभावी फाल्ने वा व्यवस्थापन नगर्ने व्यक्तिलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने र दोहोरिएको अवस्थामा अनुमति नै रद्द गर्न सकिने कानुनी प्रावधान छ।
महानगरका अनुसार स्रोतमै फोहर नछुट्याउनु, सुरक्षितरूपमा संकलन नगर्नु, अटोक्लेभपछि पनि पुनः वर्गीकरण नगर्नुजस्ता अभ्यासहरू अस्पतालहरूले दोहोर्याउँदै आएका लापरबाही हुन्। यसअघिका निरीक्षणमा समेत अस्पतालले यस्ता कमजोरी देखाएका थिए।
प्रतिक्रिया दिनुहोस्