काठमाडौँ । पाकिस्तानले बिहीवार राती भारतको जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको छ ।
भारतीय रक्षा मन्त्रालयका अनुसार पाकिस्तानले जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको हो । आक्रमणलाई निष्क्रिय बनाइएको भारतले दाबी गरेको छ ।
भारतीय रक्षा मन्त्रालयले भनेको छ, “पाकिस्तानले जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेशनहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । यी आक्रमणहरूलाई विफल पारिएको छ । भारतले कुनै पनि जनधनको क्षति भएको छैन । भारत आफ्नो सार्वभौमसत्ता र आफ्ना नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध छ ।”
भारतले पाकिस्तानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई वायु रक्षा प्रणालीद्वारा सफलतापूर्वक रोकिएको र निष्क्रिय पारिएको जनाएको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने जम्मू कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी अस्वीकार गरेका छन् । ख्वाजा आसिफले बिबिसी हिन्दीसँग भनेका छन्,“हामी यसलाई अस्वीकार गर्छौं, हामीले अहिलेसम्म केही गरेका छैनौं । जब पाकिस्तानले आक्रमण गर्छ तब सबैलाई थाहा हुनेछ ।”
बिबिसीका अनुसार बिहीबार राति ११ बजेतिर उरी सेक्टरमा भारी गोलाबारी भएको थियो भने सीमा नजिकैका नागरिक आवास क्षेत्रहरूलाई निशाना बनाइएको थियो ।
स्कूल र कलेजहरू बन्द
भारत र पाकिस्तानबिच तनाव बढीरहेका धेरै सीमावर्ती राज्यहरूले ब्ल्याकआउट आदेश जारी गरेका छन् र स्कूल र शैक्षिक संस्थाहरू बन्द गर्ने घोषणा गरेका छन् ।
साथै, प्रहरी र प्रशासनिक अधिकारीहरूको बिदा पनि रद्द गरिएको छ । जम्मू कश्मीरमा स्कूल र कलेजहरू सहित सबै शैक्षिक संस्थाहरू बन्द गर्ने आदेश जारी गरिएको छ ।
समाचार एजेन्सी पिटीआईका अनुसार पञ्जाबका शिक्षामन्त्री हरजोत सिंह बैंसले सरकारले आगामी तीन दिनका लागि राज्यका स्कूल, कलेज र विश्वविद्यालयहरू बन्द गर्ने आदेश जारी गरेको बताएका छन् ।
राजस्थानको श्रीगंगानगर प्रहरीले रेड अलर्ट जारी गरेको छ र सबैलाई घरमै बस्न निर्देशन दिएको छ ।
पञ्जाब, हरियाणा, राजस्थान, दिल्ली, गुजरात, पश्चिम बंगाल र बिहारमा कडा सुरक्षा उपायहरू लागू गरिएको छ।
प्रतिक्रिया दिनुहोस्