गभर्नरको चर्चामा रहेका डा. विश्व पौडेलले दिए गभर्नर सिफारिस समितिबाट राजीनामा


काठमाडौँ । गभर्नरको चर्चामा रहेका डा. विश्व पौडेलले गर्भनर सिफारिस समितिबाट राजीनामा दिएका छन् ।

पौडेलले राजीनामा दिएको अर्थमन्त्री विष्णु पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिएका छन् ।

गभर्नरका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच अझै सहमति हुन सकेको छैन ।

नेपाली कांग्रेसले यसअघि डा. गुणाकर भट्टको नाम अगाडि सारेको थियो । भट्टले गभर्नर भन्ने आशमा राजीनामा बुझाएका थिए ।

कामु गभर्नर निलम ढुंगाना तिम्सीनाले भट्टको राजीनामा स्वीकृत नगरेपछि समस्या बल्झिएको थियो ।

यसअघि गर्भनर सिफारिस समितिबाट पूर्व गभर्नर विजयनाथ भट्टराईले असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

गभर्नरमा विभिन्न व्यक्तिको चर्चा भइरहेका बेला पछिल्लो समय पौडेलको नाम आएको थियो । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत रहिसकेका पौडेल गत प्रतिनिधि सभा चुनावमा पराजित भएका थिए ।

पौडेलले सिफारिस समितिबाट राजीनामा दिएपछि उनी गभर्नर पक्का भएको आँकलन गरिएको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले पौडेलको ठाउँमा नयाँ व्यक्तिलाई गभर्नर सिफारिस समिति सदस्य मनोनयन गर्ने छ ।

समितिले पूर्णता पाएपछि कुनै विवाद ननिम्तिए अर्को मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने छ ।