चाडपर्वमा तलबका लागि चलायमान हुन्छ ४० अर्ब, सरकारी निकासा मात्र १५ अर्ब बढी


काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले चाडपर्व खर्चबापत १५ अर्ब रुपैयाँ निकासा गरेको पाइएको छ ।

सरकारी कर्मचारी र संवैधानिक निकायका पदाधिकारीका लागि भदौ र असोजमा सो रकम भुक्तानी लिएका हुन् ।

महालेखा नियन्त्रकको कार्यालय स्रोतका अनुसार भदौ महिनामा सरकारी कर्मचारीहरू र पदाधिकारीको पारिश्रमिकबापत २० अर्ब ६७ करोड रूपैयाँ र असोजमा ५ अर्ब ७२ करोड रुपैयाँ निकासा भइ खर्च भुक्तानी लिएका हुन् ।

असोज १२ गतेसम्मको पारिश्रमिक भुक्तानीमा ५ अर्ब ६५ करोड रूपैयाँ कर्मचारीहरूका लागि र ७ करोड ७९ लाख पदाधिकारीका लागि भएको रहेको खर्च रहेको छ ।

पदाधिकारीमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्षसहित सबै संवैधानिका निकायका प्रमुख आयुक्त तथा आयुक्तहरू पर्छन् ।

भदौको कुल पारिश्रमिक खर्चमा केही साउन महिनाको तलब र चाडपर्व खर्च पनि जोडिएकाले रकम कुल भुक्तानी खर्च अघिल्लो महिनाभन्दा झन्डै दोब्बर देखिएको कार्यालयका एक अधिकारीले बताए ।

साउन महिनाको पारिश्रमिक खर्च १२ अर्ब रुपैयाँ थियो ।असोजको पारिश्रमिक भुक्तानी बाँकी नै रहेकाले चाडपर्व खर्चबापत कति रकम भुक्तानी हुन्छ भन्ने अहिले नै भन्न नसकिने ती अधिकारीको भनाइ छ ।

विगत वर्षहरूको औसत हेर्दा चाडपर्व खर्चबापत १५ अर्ब रुपैयाँभन्दा अधिक खर्च हुने गरेको देखिएको छ, यसलाई छुट्टै शीर्षकमा वर्गीकरण नहुने भएकाले वास्तविक रकम निकाल्न समय लाग्छ, उनले भने ।

सरकारी कर्मचारीहरूबाहेक सार्वजनिक संस्थान, निजी क्षेत्रका बैंक, वित्तीय संस्था, बिमा कम्पनी, उद्योग, प्रतिष्ठानले पनि चाडपर्व खर्चबापत भुक्तानी दिने गरेका छन् ।

सरकारी र निजी क्षेत्रबाट दसैंमा चाडपर्व खर्चबापत एक महिनाको आधारभूत तलबबराबर चाडपर्व खर्च भुक्तानी दिने गरिएको छ । एक अनौपचारिक अध्ययनअनुसार चाडपर्वमा करिब ४० अर्ब रूपैयाँ नगद पारिश्रमिक चलायमान हुने गरेको छ।

कसले कति पाउँछ चाडपर्व खर्च?हालको व्यवस्थाअनुसार राष्ट्रपतिले १ लाख ७८ हजार, उपराष्ट्रपतिले १ लाख ३० हजार, प्रधानमन्त्रीले ९२ हजार, सभामुख र राष्ट्रिय सभा अध्यक्षले ८० हजार रुपैयाबराबर चाडपर्व खर्च पाउँछन् ।

अर्थमन्त्रालयका अनुसार मुख्यसचिवले ७७ हजार २११, सचिवले ७२ हजार ८२, सहसचिवले ५६ हजार ७८७, उपसचिवले ४३ हजार ६८९ रुपैयाँ चाडपर्व खर्चबापत पाउँछन् ।

नायब सुब्बाले ३४ हजार ७३०, खरिदारले ३४ हजार ९०२, वैदारले २७ हजार ६१२ रुपैयाँ तलब पाउँछन् । प्रधान सेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूले पनि मुख्यसचिवसरह चाडपर्व खर्च पाउँछन् भने अन्य दर्जाका अधिकारीदेखि सिपाहीको पनि सोहीअनुसार तलबमान तोकिएक छ ।