नामिया-पिएमएमपी बिच यान्त्रीकरण प्रवर्धनमा सहकार्यको प्रतिबद्धता


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना (पिएमएमपी) निर्देशकमा हिक्मत कुमार श्रेष्ठ नियुक्त भएपछि नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) ले भेटेर बधाई तथा शुभकामना व्यक्त गरेको छ।

संघले हिजो श्रेष्ठलाई भेटेर गरिमामय र जिम्मेवार पदमा नियुक्त भएकोमा बधाई तथा कार्यकालको उच्च सफलताको शुभकामना व्यक्त गरेका हो । संघले देशको समग्र कृषि क्षेत्रमा उनको कार्यकालमा उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरेको छ।

संघका अध्यक्ष कृष्ण शर्माका अनुसार श्रेष्ठसँगको भेटवार्तामा कृषि यान्त्रीकरण तथा प्रविधिको विकासमा सहकार्य, कृषि मेसिनरीसम्बन्धी ज्ञान, सीप र तालिमको अभिवृद्धिमा जोड दिनेसम्बन्धी विविध विषयमा छलफल भएको जानकारी दिए।

उनले भने, “हामी दिगो कृषि यान्त्रीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँग फलदायी सहकार्य गर्न सदैव तत्पर छौं।”

नेपाल कृषि मेसिनरी व्यवसायी संघले देशभरका कृषि उपकरण व्यवसायीहरूलाई संगठित गरी प्रविधिको प्रवर्धनमा काम गर्दै आएको छ। सरकार र निजी क्षेत्रबिचको सहकार्यमार्फत मात्रै नेपालमा आधुनिक, व्यावसायिक र आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्न सकिने संघको विश्वास छ ।