नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीसहित ५ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर


काठमाडौँ । नेपाल बैँकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

भुसाल हस्पिटालिटी अन्तर्गतको र्‍याडिसन प्रोजेक्टका लागि नेपाल बैँकबाट ऋण प्रक्रियामा सहजिकरण गरिदिने भन्दै घुस लिएको आरोप लगाउँदै अख्तियारले तत्कालीन अध्यक्ष अधिकारी र घुस दिने व्यक्तिसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

रुपन्देही सिद्धानगर १ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तगृत र्‍याडिसन प्रोजेक्टका लागि ऋण प्रक्रियामा सहजिकरण गरिदिने भन्दै अधिकारीले १९ लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

र्‍याडिसन प्रोजेक्टले १ अर्ब ७७ करोड २९ लाख ८६ हजार ७ सय ६६ रुपैयाँ ऋण लिनका लागि प्रकृया अगाडि बढाएको थियो ।

ऋण लिनका लागि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र उनका छोरा तथा भुसाल हस्पिटालिटका सेयर सदस्य अंकित भुसाल र घुस लेनदेनमा संलग्न भएका लक्की भन्ने खुस नसिब अन्सारी विरुद्ध मुद्दा दायर भएको छ ।

ऋण प्रवाहका लागि सहजिकरण गरिदिने भन्दै लिएको रकमको चेक सटहीको विवरण, ट्रान्सफर गरिएको रकमको विवरण अधिकारीको घरमा भेटिएको अख्तियारको भनाई छ । अधिकारीले बालकृष्ण भुसाल, अमृत भुसाल र अंकित भुसालबाट रकम लिएको अख्तियारको दाबी छ । यसका लागि लक्की भन्ने खुस नसिब अन्सारीले भूमिका खेलेका थिए ।

ग्राहकलाई ऋण मिलाइदिन्छु भन्दै पैसा उठाएको पुष्टि भएको भन्दै नेपाल राष्ट्र बैंकले अधिकारीलाई यसअघि नै कारबाही गरेको छ ।

उनलाई राष्ट्र बैंकले पाँच लाख रुपैँया जरिबाना गर्नुका साथै राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थामा पाँच वर्षका लागि सञ्चालक हुन अयोग्य हुने ठहर गरेको छ ।