इरान र इजरायलबिचको तनाव उत्कर्षतर्फ,एकअर्का विरुद्व आक्रमण जारी


काठमाडौँ । इरान र इजरायलबिचको तनाव उत्कर्षतर्फ बढेको छ ।

गत शुक्रवार बिहान इजरायलीले सैन्य आक्रमण गरेर ठुलो ठुलो क्षति पुराएपछि इरानले जवाफी कारबाही थालेको छ ।

इजरायलले पनि आक्रमणलाई निरन्तरता दिएको छ । दुबै देशले एकअर्का विरूद्ध देशभरका विभिन्न स्थानहरूमा आक्रमण गरिरहेका छन् । आक्रमणमा आणविक, सैन्य,उर्जा र नागरिक पूर्वाधारहरू समेत लक्षित छन् ।

दुबै देशका विभिन्न सहरहरूमा समयसमयमा विस्फोटको आवाज सुनिएको छ । गएराती इरानी सेनाले, विशेष गरी इस्लामिक रिभोल्युसनरी गाड्र्स कप्र्सले इजरायली भूमिमा ड्रोन र ब्यालिस्टिक मिसाइल प्रयोग गरेर नयाँ चरणको आक्रमण सुरु गरेको घोषणा गरेको छ ।

एक उच्चपदस्थ इरानी सुरक्षा अधिकारीले भनेका छन् कि इरान लामो समयसम्मको संघर्षका लागि तयार छ र इजरायली भूमिमा आक्रमणहरू अझ तीव्र बनाउनेछ ।

अलजजिराका अनुसार यो अवस्था निकै जटिल देखिन्छ, किनभने दुबै पक्षले आक्रमण बढाउने आफ्नो योजना सार्वजनिक गरिरहेका छन्। तर भविष्यमा के हुन्छ भन्ने कुरा हेर्न बाँकी नै छ ।

इरानले गरेको आक्रमणको पछिल्लो श्रृंखलामा इजरायलका धेरै भवनहरू क्षतिग्रस्त भएका छन् । इजरायलको फायर एण्ड रेस्क्यु सेवाका अनुसार ड्यान जिल्लामा आठ तले भवनमा सीधा आक्रमण भएको छ र सो क्षेत्रको अर्को आवासीय भवन पनि क्षतिग्रस्त भएको छ । केही अन्य भवनहरूमा पनि सीधा आक्रमण भएको छ र खुला क्षेत्रमा आगो लागेको ।

एजेन्सीले उपलब्ध गराएका तस्वीरहरूमा आपतकालीन उद्धारकर्मीहरू ध्वस्त भवनहरूमा भग्नावशेष हटाउँदै गरेको देखिन्छ ।

शुक्रबार इजरायलको आक्रमणमा उच्च सैन्यकमाण्डर र आणविक वैज्ञानिकहरू मारिएपछि इरानले इजरायमाथि आक्रमण तीव्र बनाएको छ । इजरायलले पनि आक्रमण जारी राख्ने बताएको छ । पछिल्लो आक्रमणमा पनि इजरायलले इराणका आणविक भट्टीहरूलाइ निशाना बनाएको छ ।

इरानको पछिल्लो आक्रमणमा इजरायलमा एकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

इजरायलको आपतकालीन स्वास्थ्य सेवा मगेन डेविड एडोमले पछिल्लो मिसाइल आक्रमणहरूमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ ।

तेल अविव क्षेत्रमा ६० वर्षीया एक महिलाको मृत्यु भएको छ भने २० जना मध्यम र सामान्य घाइते भएका छन् । जेरुसेलम नजिकको श्फेला क्षेत्रमा एक भवन नजिक २४ जना घाइते भएका र दुई जनाको अवस्था गम्भीर रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मगेन डेविड एडोमले उद्धार कार्यहरू अझै जारी रहेको जानकारी दिएको छ । यसअघि टाइम्स अफ इजरायलले इरानको अघिल्लो आक्रमणमा उत्तरी इजरायलमा पाँच जनाको मृत्यु भएको जनाएको थियो ।