संसदको अवरोध खुलाउन रास्वपा र राप्रपासँग सभामुखले गरे छुट्टाछुट्टै छलफल


काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले सदनको अवरोध खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

सभामुखले आज रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

सभामुखले दुवै दलसँग संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता बताउँदै अवरोधको स्वरुप बदल्न र सदन सञ्चालनको लागि सहजिकरण गरिदिन आग्रह गरे ।

छलफलमा सभामुखले सदन सञ्चालनको वातावरण बनाउन आग्रह गरे पनि भिजिट भिसा प्रकरणमा गुहमन्त्रीले राजीनामा नदिएसम्म अवरोध जारी रहने डीपी अर्यालले बताए ।

माओवादीले सत्ता पक्षसँग २ बुँदे सहमति गरे पनि रास्वपा र राप्रपा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको अडानमै छन् ।

गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएको भन्दै आज बिहान प्रमुख दलका सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले अध्यक्ष लिङ्देनसँग पनि टेलिफोन गर्दै संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।