भोटेकोशीमा आएको बाढीले रसुवागढीकाे नेपाल-चीन जाेड्ने पुल बगायाे,भन्सार क्षेत्रमा समेत क्षति


काठमाडौँ । चिनियाँ भूमिमा परेको भिषण वर्षासँगै भोटेकोशी नदीमा आएको ठुलो बाढीले रसुवागढी नाकामा क्षति पुर्‍याएको छ । बाढीका कारण नेपाल चीन जाेड्ने पुल र भन्सार क्षेत्रमा क्षति पुगेको हो ।

बिहान अन्दाजी सवा तीनबजे तिर आएको बाढीले रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ। यस्तै टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको छ।

हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त नभएको राष्टिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बाढीका कारण केरूङमा सामान लिन जान लागेका र सामान लिएर फर्किदै गरेको गाडीहरू फसेका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाले नदीमा ठुलो बाढी आएका सचेत रहन अनुरोध गरेको छ ।

सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय रसुवाले भोटेकोशी नदीमा ठुलो मात्रामा बाढी आई नदीको सतह बढ्न गएको भन्दै प्रभावित क्षेत्रमा बसोबास गर्ने सजगता अपनाउन भनेको छ । उद्धार कार्यमा स्थानीय प्रशासन तदारुकताका साथ क्रियाशील रहेको बताएको छ ।

फोटो : रेडियो लाङ्टाङको फेसबुकबाट