काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १ अर्ब ५० करोड भन्दा माथिको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
ब्युराेले ललितपुरको ललितपुर महानगरपालिका वडा नं.२ सानेपा कालोपुलबाट पक्राउ गरेको हो ।
भारतीय नागरिक रुपेश कुमार गुप्ताले सञ्चालन गरेको राजतिर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा गैरकानुनी हुन्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा २ जनालाई पक्राउ गरिएको ब्युराेले जनाएको छ ।
पक्राउ पर्ने गुुप्ता भारतको बिहार मोतिहारीका हुन भने उनीसँगै पक्राउ पर्ने बिपिन कुमार बिहारको राज्य पूर्वि चम्पारणका हुन् । दुबै ललितपुर २ मा बस्दै आएका थिए ।
उनीहरूलाई हिजो पक्राउ गरिएको र मुलुकी अपराध संहिता,२०७४ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुन्डी सम्बन्धि कारोबार गर्न नहुने कसुर र बन्यजन्तु सम्बन्धी कसुरमा मुद्दा चलाइने ब्युराेले जनाएको छ ।
उनीहरूको साथबाट व्युरोले संरक्षित बन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने बस्तु समेत बरामद गरेको छ ।
दुबै जनाको साथबाट नेपाली ८ लाख २० हजार रुपैयाँ र भा.रु. १० हजार रुपैयाँ समेत बरामत गरिएको व्युरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्