काठमाडौँ । देशभर परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण विभिन्न स्थानका राजमार्ग र सडक खण्डहरू प्रभावित भएका छन्।
प्रहरीले सोमबार बिहान ९ बजे जारी गरेको विवरणअनुसार ६ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ५ स्थानमा एकतर्फी मात्रै सञ्चालनमा रहेका छन्।
काठमाडौँ उपत्यकाभित्र टोखा नगरपालिका वडा नम्बर २ स्थित काठमाडौँ–नुवाकोट सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाइएको छ।
कोशी प्रदेशअन्तर्गत संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर ४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको संगमस्थल हेवाखोलामा बाढीले मेची राजमार्ग अवरुद्ध बनाएको छ। त्यस्तै, तुम्वेवा गाउँपालिका वडा नम्बर २ मा तमोर–कोरिडोर सडकखण्डसमेत पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशको बागलुङ जिल्लामा पहिरोका कारण गलकोट नगरपालिका वडा नम्बर ११ काउसेस्थित मध्यपहाडी लोकमार्ग र बागलुङ नगरपालिका वडा नम्बर १० दब्ल्याङस्थित कालिगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छन्। तर, नवलपुर पूर्वको गैडाकोट नगरपालिका वडा नम्बर ३ स्थित तरडखोलामा बाढीका कारण कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध बनेको छ।
लुम्बिनी प्रदेशमा पनि पहिरोका कारण रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिकाको विभिन्न ठाउँमा सहिद राजमार्ग प्रभावित भएको छ। परिवर्तन गाउँपालिका वडा नम्बर ५ ग्रामजिम र भुर्तिवाङ क्षेत्रमा सडक एकतर्फी मात्र खुलेको छ भने थबाङको वडा नम्बर १ र २ बीचको खण्ड पूर्ण रूपमा बन्द भएको प्रहरीको भनाइ छ।
त्यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा रहेको आठबिसकोट नगरपालिका वडा नम्बर ६ रिजिगारमा बाढीका कारण जाजरकोट–डोल्पा भेरी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रा गर्नु अघि सम्बन्धित क्षेत्रमा सडकको अवस्था हेरीमात्र हिँड्न सवारी साधन चालकहरूलाई अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्