स्याङ्जामा चेक अनादर मुद्दाका तीन फरार प्रतिवादीहरू पक्राउ


स्याङजा । चेक अनादर मुद्दामा अदालतबाट फैसला भई जरिवाना तिर्न बाँकी रहेका तीन फरार कसूरदारलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन र न्यायिक कारबाहीलाई पूर्णता दिन विशेष टोली परिचालन गरिएको थियो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये वालिङ नगरपालिका वडा नम्बर ८ की निरकुमारी जैसी, चापाकोट नगरपालिका वडा नम्बर १० का आश्रित पंगेनी र हाल वालिङ नगरपालिका वडा नम्बर ९ बसोबास गरिरहेका नवलपरासी सुस्तापूर्वका तेज प्रसाद पाठक रहेका छन् ।

उनीहरू तीनै जनालाई चेक अनादर मुद्दामा अदालतले जरिवाना तोकेको थियो । अदालतको फैसलाअनुसार तीनै जनाबाट जनही २०० रुपैयाँका दरले कुल ६०० रुपैयाँ जरिवाना असुल गरिएको छ । पक्राउ परेका व्यक्तिहरूलाई जरिवाना असुलीका लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।