कोदोको महत्व र उत्पादन प्रवर्धनमा राज्यको ध्यान केन्द्रित हुनुपर्छः मन्त्री खड्का


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले कोदोको महत्व र उत्पादन प्रवर्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

नेपाली खाना प्रवर्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको ‘कोदोको १० परिकारको डेमो प्रदर्शन समारोहमा’ मा सहभागी हुँदै मन्त्री खड्काले कोदोजस्ता स्थानीय अन्नबालीको वैज्ञानिक संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान पुर्‍याउन सकिने बताएका हुन् ।

“देशको माटोमा फल्ने अन्नले मात्र हामीलाई आत्मनिर्भर बनाउँछ। आयातमा निर्भर खाद्य प्रणाली दीर्घकालीन समाधान होइन,” मन्त्री खड्काले भने, “कोदो परिकारको विषय मात्र होइन, यो हाम्रो संस्कृतिको, पहिचानको र सम्भावनाको अन्न हो।” पहिला विपन्न वर्गले खाने भनिएको कोदोका परिकार यतिबेला सबै वर्गको रुचि एवं स्वास्थ्यको हिसाबले प्राथमिकता पर्ने खाद्यान्नको रुपमा लिइएको मन्त्री खड्काले बताए ।

कार्यक्रममा कोदोबाट तयार पारिएका परिकारहरू- कोदोका प्यान केक, कोदोको खिर, कोदोको माफिन, कोदोको बिस्कुट, कोदोको मालपुवा, कोदोको म:म:, ढिँडो, कोदोको फापर, कोदो हलुवा, कोदो पकौडा, कोदो खिर, कोदो बिस्कुट, सेलरोटीको जीवन्त प्रस्तुति गरिएको थियो। मन्त्री खड्काले ती परिकारहरू अवलोकन गर्नुहुँदै आयोजक एवं सेफसँग अन्तरक्रिया गरे ।

उनले कोदोको वैज्ञानिक अनुसन्धान, व्यवसायीकरण तथा उपभोग संस्कृतिको विस्तारका लागि मन्त्रालयगत समन्वय र नीतिगत सहयोगको प्रतिबद्धता पनि जनाए ।

नेपाली खाना प्रवर्धन अभियान अन्तर्गत अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित नेपाली खाना प्रवर्धनमा अभियानको आयोजना तथा नारायणी चमेना गृह, सिंहदरबार काठमाडौको सहकार्यमा सम्पन्न भोजनलिपि स्वादको पाँचौ संस्करणमा पाककलामार्फत प्रदर्शनी गरिएको अभियानका संयोजक देवी प्रसाद सापकोटाले बताए ।

कार्यक्रममा कृषि वैज्ञानिक, उद्यमी, विद्यार्थी, कृषक, विभिन्न मन्त्रालय एवं विभाका कर्मचारीलगायतको उपस्थिति थियो।

Skip This