नेप्से परिसूचक १० अंकले घट्दा कारोबार रकममा पनि गिरावट


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । केहि दिनदेखि बजार लगातार घटेपछि लगानीकर्ताहरुको मनोबल पनि घट्दै गएको सेयर बजारका विश्लेषकहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.५४ अंकले घटेर १८८३.१६ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि १.८३ अंकले घटेर ३७०.५३ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज होटल तथा पर्यटनबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

आज कारोबार रकमका आधारमा शिवम् सिमेन्टको अग्रस्थानमा छ । कम्पनीको १० करोड ३९ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आइतबार लक्ष्मी इक्विटी फण्डको मूल्य सबैभन्दा धेरै बढेको छ । फण्डको मूल्य ७.९० प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन दिन नबिल ब्यालेन्स फण्ड २ को मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.९० प्रतिशतले घटेको छ ।

कूल २२५ वटा कम्पनीको २० लाख २८ हजार ३ सय ४८ कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख ११ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।