मुलुकभर साढे ६ हजार पशुपालन फार्म, व्यवसायिक रुपमा पालिने गाईभैँसीको संख्या ४५ हजार


काठमाडौं । नेपालमा जम्मा ६ हजार ४८६ वटा व्यावसायिक पशुपालन फार्महरु रहेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज सार्वजनिक गरेको एकीकृत सर्वेक्षण २०७८ अनुसार यिनीहरु मध्ये १ हजार २३३ वटा गाईपालन फार्म, ९१४ वटा भैसीपालन फार्म, ४३ वटा राँगाे पालन फार्म, २ हजार २९५ वटा बाख्रा र च्यांग्रापालन फार्म, ५७२ वटा भेडापालन फार्म, ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फार्म रहेको पाइएको छ ।

सर्वेक्षणले नेपालमा गाई भैंसीपालन (मिश्रित) फार्म ४८३ वटा बाख्रा, च्यांग्रा र भेडापालन (मिश्रित) फार्म १९८ वटा र गाई र भैंसीपालन तथा बाखा, च्यांग्रा र भेडापालन (मिश्रित) फार्म २६५ रहेको देखाएको छ। यस्ता व्यावसायिक पशुपालन फार्महरु मध्ये प्रदेश नं. १ मा सबै भन्दा बढी अर्थात १ हजार २७० वटा र मधेश प्रदेशमा सबै भन्दा कम अर्थात ४०४ वटा फार्महरु रहेको पाइएको छ ।

सर्वेक्षणबाट प्राप्त नतिजाले नेपालमा जम्मा ४४ हजार ८७३ वटा गाई गोरुहरु व्यावसायिक रुपमा पालन गरिएकाे देखाएको छ । जसमध्ये उन्नत जातका गाई र गोरुहरुको संख्या ३३ हजार ७५७ (७५ प्रतिशत) रहेको छ । यिनीहरु मध्ये दुध गाईहरुको संख्या क्रमशः १५ हजार ३८० (६३ प्रतिशत) ९ हजार १०४ (३७ प्रतिशत) रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात ९ हजार ३६४ वटा गाई र गोरुहरु बागमती प्रदेशमा र सबै भन्दा कम २ हजार २७४ वटा सुदूरपश्चिम प्रदेशमा रहेको देखिएको छ।

यसैगरी, सर्वेक्षणले नेपालमा जम्मा ३४ हजार ६५३ वटा राँगा/ भैँसीहरू व्यावसायिक रुपमा पालिएको देखाएको छ जसमध्ये उन्नत जातका राँगा/ भैसीहरुको संख्या २४ हजार ४४७ (६१ प्रतिशत) रहेको छ। यिनीहरु मध्ये दुध दिने र नदिने भैंसीहरुको संख्या क्रमशः १० हजार ८४१ (६१ प्रतिशत) र ६ हजार ९३१ ( ३९ प्रतिशत) रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात ११ हजार ४६९ वटा भैंसी गण्डकी प्रदेशमा र सबै भन्दा कम अर्थात १ हजार ६३० वटा सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ ।

नेपालमा जम्मा १ लाख ५० हजार ५६८ वटा बाख्राहरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका बाख्राहरूको संख्या ६७ हजार ०६७ (४५ प्रतिशत) रहेको छ। उन्नत जातका बाख्राहरु मध्ये बाेर जातका बाखा सबै भन्दा बढी अर्थात ३१ हजार ६३७ संख्यामा रहेका छन् भने त्यसपछि जमुनापारी जातका छन् । जसको संख्या २३ हजार ६६३ रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात ३३ हजार २१६ वटा (२२ प्रतिशत) बाख्रा प्रदेश नं १ मा र सबै भन्दा कम अर्थात ६ हजार ५०२ बटा ४४ प्रतिशत मधेश प्रदेशमा रहेको देखाएको छ। यसैगरी व्यावसायिक रूपमा पालिएका च्याँग्राहरूकाे संख्या नेपालमा ३१ हजार ७८१ पाइएकाे छ ।

यो सर्वेक्षणले नेपालमा व्यावसायिक रुपमा पालिएका भेडाको जम्मा संख्या ८८हजार ४२१ देखाएको छ । जस मध्ये बरुवाल जातका भेडा सबै भन्दा बढी अर्थात १३ हजार ३३४ संख्यामा रहेका छन् भने त्यस पछि कागे जातका छन् जसको संख्या ६ हजार २४८ रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात ३४ हजार ९७५ वटा (४० प्रतिशत) भेडा कर्णाली प्रदेशमा र सबै भन्दा कम अर्थात ३९५ वटा (०। ४ प्रतिशत) मधेश प्रदेशमा रहेको देखाएको छ ।

यस्तै सर्वेक्षणबाट प्राप्त नतिजाले नेपालमा व्यावसायिक रुपमा पालिएका सुँगुरको जम्मा संख्या ३८ हजार ३६० देखाएको छ । जस मध्ये उन्नत जातका सुँगुरहरुको संख्या ३५ हजार २३० (९२ प्रतिशत) रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात १६ हजार ८८४ वटा (४४ प्रतिशत) सुँगुर प्रदेश नं. १ मा र सबै भन्दा कम अर्थात ५२८ वटा (१ प्रतिशत) मधेश प्रदेशमा रहेको देखाएको छ।

सर्वेक्षणले १५ हजार ३८० बटा दुध दिने गाईहरु बाट दुध दिने अवधिमा ४ कराेड ५८ लाख ०३ हजार ४५७ लिटर दूध उत्पादन भएको देखाएको छ । जात अनुसार तुलना गर्दा होलिस्टिन र होलिस्टिन कसब्रिड जातको गाईबाट सबै भन्दा बढी दुध उत्पादन हुने गरेको पाइएकाे छ। गाईको दुध उत्पादनको दृष्टिकोणले १ कराेड ३५ लाख ९८ हजार ५१० लिटर दुधको उत्पादन सहित बागमती प्रदेश अग्रणी स्थानमा रहेको पाइएकाे छ। प्राप्त नतिजाले स्थानीय जातको गाईको सरदर दुध दिने अवधि नौ महिना र उन्नत जातको दश महिना देखाएको छ भने प्रति गाई प्रति दिन सरदर दश लिटर दुध उत्पादन हुने गरेको पाइएकाे छ।

सर्वेक्षणले यी व्यावसायिक फार्महरु बाट २ कराेड ३२ लाख ३१ हजार ९१ लिटर भैंसीको दुध उत्पादन भएको देखाएको छ। जात अनुसार तुलना गर्दा मुर्रा जातको भैंसीबाट सबै भन्दा बढी दुध उत्पादन हुने गरेको पाइएकाे छ। भैंसीको दुध उत्पादनको दृष्टिकोणले ८३ लाख ८८ हजार १८३ लिटर दुध सहित गण्डकी प्रदेश अग्रणी स्थानमा रहेको पाइएकाे छ । नतिजाले भैंसीको सरदर दुध दिने अवधि नौ महिना देखाएको छ भने प्रति भैसी प्रति दिन सरदर आठ लिटर दुध उत्पादन हुने गरेको पाईएको छ। सन्दर्भ हप्तामा उत्पादित दुध मध्ये गाईको ८९ प्रतिशत र भैसीको ८५ प्रतिशत बिक्री हुने गरेको समेत सर्वेक्षणले औँल्याएको छ।

नेपालको कृषि तथ्याङ्कीय प्रणालीलाई सुदृढीकरण गर्न विश्व खाद्य तथा कृषि संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालय (तात्कालिन केन्द्रीय तथ्याङ्क विभाग) को संयुक्त आयोजनामा आर्थिक वर्ष २०७८/०७९ मा नेपालभरी व्यावसायिकरुपमा संचालनमा रहेका मध्यम तथा ठुला पशुपालन व्यवसायहरूको एकीकृत सर्वेक्षण २०७८ कार्यक्रम सञ्चालन गरिएको थियो । यस सर्वेक्षणको लागि मुलुकभरी जम्मा ७९८ पशुपालन व्यवसायहरु छनोट गरिएको थियो ।