बढ्यो आर्थिक अपराध, बैकिङ कसुरका मुद्दा मात्रै ५० प्रतिशत


काठमाडाैं । जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैकिङ कसुर पहिलो नम्बरमा रहेको बताएका छन् ।

बुधवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका १२ हजार ९ सय १५ वटा मुद्दामध्ये ६ हजार ५ सय ५३ वटा मुद्दाहरु बैकिङ कसुरका दर्ता भएको उनले जानकारी दिए । अधिकारीका अनुसार बैकिङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा रहेका छन् । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्त्या, जबर्जजस्तीकरणी, ज्यान मार्ने उधोग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेको उनले बताए । चोरीका ९५१, ठगीका ७४७, लागूऔषधका ४३१, आत्महत्याका ३३२, जबर्जजस्ती करणी २४४, ज्यान मार्ने उधोग १४०, सवारी ज्यान १०० र सवारी अंगभंग ७४ वटा मुद्दा दर्ता भएका छन् ।

औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । उनका अनुसार यी १० प्रकारका मूख्य संख्याका अपराधहरुले जम्मा मुुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गतवर्ष फैसला कार्यन्वयन तर्फ ५ हजार ५ सय १२ जनाबाट २४ करोड २० लाख ९४ हजार ८५९ रुपैयाँ जरिवाना असुल गरेको छ । यस्तै ६ करोड ८५ लाख ५० हजार १०६ रुपैयाँ बराबरको हुण्डी रकम बरामद गरेको छ । कार्यलयले १२ करोड ७५ लाख ८ हजार ८ सय २८ रुपैयाँ राजस्व दाखिला समेत गरेको छ ।