मनकामना केबुलकारद्वारा ४० कोठाको रिसोर्ट बनाउने घोषणा, पर्यटनमा ठूलो करदाताका रुपमा सम्मान


काठमाडौं । नेपालकै पहिलो मनकामना केबुलकारको संचालन २४ औं वर्ष पूरा गरी २५ औं वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केबुलकारले हालसम्म करिब एक करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरिसकेको कम्पनीले जानकारी दिएको छ ।
“केबुलकारको नियमित सञ्चालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवसायहरुमा उल्लेख्य बृद्धि भई समुन्नत विकास भई विश्वसामु समेत मनकामनाको प्रचार प्रसार भएको कम्पनीले बताएको छ ।
मनकामना केबुलकार विद्यमान एनालग प्रविधिबाट डोपलमेयरको डी–कनेक्ट डिजिटल प्रविधिमा स्तरोन्नति भइरहेको जानकारी दिँदै कम्पनीले यसका लागि पहिलो प्रथम चरणको कार्य सम्पन्न भई २५ औं वार्षिकोत्सवको अवसरमा पूर्ण रुपले डिटिटल प्रणालीमा रुपान्तरण गरी देशकै पहिलो डिजिटल केबुलकार प्रणाली हुने जानकारी दिएको छ ।
वार्षिकोत्सवको उपलक्ष्यमा चितवन को–इ समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार (प्रा.) लिले मनकामनामा ४० कोठायुक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निर्माण थालनी गरिने समेत जानकारी दिएको छं । यसको लागत करिब४८ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।
आ‌फ्नो व्यवसाय आम्दानीको केही हिस्सा सामाजिक कार्यमा खर्चिनु पर्छ भन्ने केबुलकारका संस्थापक स्व. लक्ष्मणबाबुु श्रेष्ठको सोचअनुरुप केबुलकारले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, धार्मिक, शिक्षा जस्ता आदि कार्यमा सहयोग पुर्‍याउँंदै आएको भन्दै कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले भविष्यमा पनि कम्पनी सदैव लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
विगत लामो समयदेखि केबुलकार अवस्थित चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउंपालिकामा प्रत्येकलाई कूल आम्दानीको १.१ प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्धार लगायत विकास निर्माणका कार्य आदिमा खर्चिंदै आएको समूहले जानकारी दिएको छ ।
“भूकम्प तथा कोभिड जस्ता प्राकृतिक तथा अन्य विपत्तका समयमा राहत वितरण तथा सहयोग गर्दै आएका छौं र गरी रहने छौं,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, कम्पनी उत्कृष्ठ करदाताका रुपमा समेत सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा पर्यटन उद्योग विधामा सबैभन्दा बढी कर तिर्ने मनकामना केबलकारलाई सम्मानित गरेको हो ।
कम्पनीको तर्फबाट निर्देशक राजेशबाबु श्रेष्ठले अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करबाट सम्मानपत्र ग्रहण गरेका थिए।