संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा गाली खानुपरेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै महामन्त्री थापाले सात बुँदे सहमतिको आधारमा सरकार बनेको भए पनि पहिलो बुँदा नै कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।

थापाले संविधान संशोधनको लागि साझा मुद्दाहरुमा सहमति बनाउँदै अगाडि लैजानुपर्ने उल्लेख गर्दैं सदनमार्फत नै संयन्त्र बनाउन सरकारसँग आग्रह गरे । सरकारले जनतासँग गरेको वाचा अनदेखा गरेको भन्दै त्यस्तो गर्न पाउने अधिकार सरकारसँग नभएको तर्क उनको छ ।

थापाले भने, “सात वटा सहमति यो सरकारको मुख्य आधार हो । त्यसका पहिलो बुँदामा हामीले राजनीतिक स्थायीतवका निम्ति संविधान संशोधन गर्छौं भनेका छौं । हामीले सिन्का पनि भाँचेका छैनौं । अहिले हामी राष्ट्रिय सभामा निर्वाचन गरेर बहुमत आएपछि गर्छौं भनिरहेका छौं । त्यस्तो भन्न पाउँछौं ? हामीसँग त्यो अधिकार नै छैन ।”

संविधान संशोधन गर्नको लागि संख्या नपुग्ने र पछि समझदारी बन्न नसक्न सक्ने तर यसको तर्क अगाडि बढाएर काम नै सुरु नहुनु दुखद रहेको भनाइ थापाको छ । थापाले भने, “तर योतर्फ हामीले कदम अगाडि बढाउनु पर्दैन ? हामीले नबढाउँदै गर्दाखेरी अहिले हामीलाई गिज्याउने अवस्था बनेको छैन ? तिमीले के गर्यौ भनेर हामीले गाली राइराख्नुपरेको छ ।”

संविधान संशोधनको लागि प्रतिपक्षी दललाई समेत जोडेर अगाडि बढौं बढ्न उनको सुझाव छ । थापाले भने, “हामी यो वाचा गरेर आएका छौं यो हामीले गर्नैपर्छ । लोकतन्त्रमा जनतासँग गरेका वाचालाई हामीले अनदेखा गर्न पाउँदैनौं ।”

दुई प्रमुख दलहरुको समिकरणमा बनको सरकारले समेत अपेक्षाकृत नतिजा दिन नसकेको भन्दै उनले सुधारको आवश्यकता औंल्याए ।

—न्युज एजेन्सी नेपाल