नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति सुआनसँग द्विपक्षीय वार्ता सुरु


काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा शनिबार काठमाडौं आएकी भियतनामकी उपराष्ट्रपती भो थि आन सुआनसँग द्धिपक्षीय बैठक सुरु भएको छ ।

भियतनामकी समकक्षी सुआनले आइतबार विहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेपछि द्विपक्षीय बैठक सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल(भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा तीन दिने भ्रमणको लागि सुआन नेपाल आएकी हुन् ।

शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन् ।

मन्त्री डा राणले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिइन् । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताइन्।

उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गरेपछिस्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।