मंसिर २३ देखि २७ गतेसम्म १९ औं हस्तकला व्यापार मेला हुने


काठमाडौं । मंसिर २३ देखि २७ गतेसम्म १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघले पत्रकार सम्मेलन गर्दै आगामी मंसिर २३ गतेदेखि २७ गतेसम्म होटल हायात रिजेन्सीमा १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

महासंघले हस्तकला सामानहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्धन, प्रचारप्रसार तथा बस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्धन गर्ने जनाएको छ । महासंघले नेपालमा उत्पादन भएका वस्तुको प्रवद्र्धन गर्नका लागि आगामी कला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मेलामा देशभरका विभिन्न जिल्लाका व्यवसायीहरूको १५० वटा स्टलमा हस्तकला प्रदर्शन हुनेछ । पाँच दिनसम्म हुने प्रदर्शनमा महासंघले परम्परागत तथा कला प्रतियोगिता अन्तर्गत काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानव मुखाकृति भएको गरूड बनाउने विधा र प्राकृतिक रेसाहरूको प्रयोगबाट मफलर बनाउने प्रतियोगिता सञ्चालन गर्नेछ ।

साथै, कला पर्दर्शनी अन्तर्गत फिलगिरी, थोजामाज्या र पौका, थांका, ऊनी, ढाका, कपडा गरी ३ वटा विधामा कला प्रदर्शनी गर्नेलाई सम्मान गर्ने भएको छ ।

जसमा परम्परागत विधामा र समसामयिक विधामा प्रथम हुनेलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतियलाई २० हजार रकमसहित प्रमाणपत्र वितरण गर्नेछ ।

साथै, महासंघले ७० वर्ष नाघेका जेष्ठ कलाकारहरूलाई तथा हस्तकला वस्तुहरू विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ठ निकासीकर्तालाई सम्मान गर्ने भएको छ । महासंघले ४० हजारदेखि १ लाख २० हजारसम्म स्टलको मूल्य तोकेको छ ।

मेलामा अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु लघु एवं साना उद्यमी व्यवसायीले विदेशी आयातकर्तासँग व्यवसायिक सम्बन्ध स्थापित गर्न सक्ने अवसर प्राप्त गर्ने महासंघको भनाइ छ ।

त्यस्तै, स्वदेशमै रोजगारीको अवसर दिलाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा क्रेता बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्न, नवोदित उद्यमी व्यवसायीहरुलाई बजार पहुँचको अवसर प्रदान गराउन एवं नेपाली संस्कृतिबीच हस्तकलाको सम्बन्धमा जनभावना उजागर गर्न यो मेलाको महत्वपूर्ण भूमिका रहने महासंघले अपेक्षा राखेको छ ।मेलाबाट ३ करोड रूपैयाँ बराबरको आम्दानी हुने महासंघले जनाएको छ ।

सो मेलामा करिब ५ लाखदेखि १० लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । ८० मुलुकभन्दा बढी देशमा निर्यात हुँदै आएको हस्तकला व्यवसायी तथा उद्योगीले सामान्य अवस्थामा वार्षिक १२ अर्ब रुपैयाँसम्मको हस्तकला निर्यात गर्दै आएका थिए ।