काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबैभन्दा बढी अपहेलित भएको बताएका छन् ।
बिहीवार उखु किसानको आन्दोलनमा ऐक्यबेवद्धता जनाउन माईतीघर पुग्नुभएका अध्यक्ष यादवले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्ने बताए । अन्नदाता किसानलाई नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षा गरेको उनले आरोप लगाए ।
किसानमा पनि उखु किसान अझ बढी पेलानमा परेका उनकाे भनाइ छ । उनले किसानले उत्पादन गरेको उखु किनेर मिल सञ्चालक धनी हुने तर किसानले समयमा मूल्य नपाउने अवस्था रहेको बताएका छन् । सरकारले उखु किसानलाई तत्काल रकम भुक्तानी गर्नुपर्नेमा उनले जोड दिए । उनले मिलमा पु¥याएको एक महिनाभित्र उखु किसानलाई मिलवालाले रकम भुक्तानी गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।
उनले आवश्यक ऐन कानून बनाएर भएपनि किसानको माग पूरा गर्नुपर्नेमा जोड दिए । वर्तमान नीतिले किसान समस्यामा परेको, गरिबी, बेरोजगार बढेको उनको भनाइ छ ।
उखु किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माईतीघरमा आन्दोलन गरिरहेका छन् । सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ ।
प्रतिक्रिया दिनुहोस्