काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर अभौतिकरण गर्दा प्रदान गरिने डबल आइजिन नम्बर लागू गर्ने तयारी गरेको छ ।
बोर्ड कम्पनीको सेयरलाई ‘लक–इन’ अवधिभर दुईवटा ‘इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर’ (आइजिन)काे व्यवस्था सहितको कार्यविधि स्वीकृत गर्ने अन्तिम तयारीमा जुटेको हाे।
कम्पनीहरूको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको सेयरको छुट्टाछुट्टै आइजिन नम्बर कायम हुनेगरी कार्यविधि जारी गर्ने तयारी भएको बोर्डका एक उच्च अधिकारीले बताए ।
कार्यविधि अनुसार सेयर सूचिकरण गर्दा संस्थापक सेयर र सर्वसाधारण सेयरको लागि लकइन अवधिसम्म फरक फरक आइजिन नम्बर लागू हुनेछ । ती अधिकारीले भने,“डबल आइजिनको व्यवस्था सहित कार्यविधि स्वीकृतिको अन्तिम तयारी भएको छ । ”
सिडिएससी एण्ड क्लियरिङ लिमिटेडले भने संस्थापक सेयर र सर्वसाधारण सेयरका लागि फरक फरक आइजिन नम्बर दिनुपर्ने अडान लिएकाे थियाे ।
जसअनुसार विवादकाबिच सिडिएससी एन्ड क्लियरिङ लिमिटेडले आइजिन नम्बर सम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गर्दै गत साउनमा ‘धितोपत्रको अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ बोर्डमा बुझाएको थियो ।
अहिले कम्पनीको एउटै आइजिन कायम हुनु पर्ने एकथरीको तर्क छ भने संस्थापक सेयर र पब्लिक सेयर छुट्याउनै पर्ने अर्काथरीको तर्क छ ।
बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले समेत डबल आइजिनलाई पुँजीबजारको सुधारको आधार मानेको बोर्डका कर्मचारी स्रोत बताउँछ । ति कर्मचारीले भने,“लकइन अवधिसम्म दुइओटै आइजिन रहने गरी कार्यविधि स्वीकृत हुनेमा अध्यक्ष ज्यू अडिग हुनुहुन्छ । यसलाई उहाँले पुँजीबजार सुधारको एउटा आधार मान्नुभएको छ ।”
कुनै पनि कम्पनीले प्रथम सार्वजनिक निष्काशन गरिसकेपछि सूचीकरण हुँदा एउटा आइजिन दिँदा के हुन्छ र दुईओटा आइजिन दिँदा के हुन्छ भन्ने बहसको विषय बनिरहेको छ ।
डबल आइजिन व्यवस्था लागू भएपछि, एउटै कम्पनीका दुई प्रकारका सेयर (संस्थापक र सर्वसाधारण) अलग–अलग रूपमा निगरानी गर्न सहज हुने बोर्डले जनाएको छ ।
उक्त व्यवस्थासँगै लगानीकर्तालाई पारदर्शिता दिने, नियामकलाई निगरानी सजिलो हुने र बजारमा संस्थापक सेयर लक–इन अवधि सकिएपछि आउने प्रभाव छुट्टै रूपमा देखिने अपेक्षा गरिएको छ ।
हालै बोर्डले आइपिओ प्रक्रिया नियमन गर्न अन्य धेरै कडाइका प्रस्ताव ल्याइरहेको छ । लगानीकर्ता हित र बजार स्थायित्वलाई आधार मानेर गरिएको यस कदमलाई सुधारकोे प्रयासका रूपमा पनि हेरिएको सेयरबजारका जानकारहरूले बताएका छन् ।
कार्यविधि नबन्दा जलविद्युत क्षेत्रका कम्पनीलाई प्रबन्ध पत्र र नियमावलीमा भएको व्यवस्थाविपरीत एउटै आइजिन दिइँदै आएको थियो भने लगानी तथा वास्तविक/औद्योगिक (रियल) क्षेत्र का कम्पनीलाई कर्मचारीको तजबिजीमा कसैलाई एउटा र कसैलाई दुईओटा आइजिन दिने गरेको आरोप लाग्दै आएको थियो ।
यद्यपि कार्यविधि कार्यान्वयन गर्ने औपचारिक घोषणा भने अझै भएको छैन। स्रोतकाअनुसार बोर्डले यसबारे छिट्टै निर्णय सार्वजनिक गर्नेछ ।
प्रस्तावित कार्यविधिमा यस्तो छ व्यवस्था
सिडिएससीले तयार गरेको कार्यविधिमा अबदेखि सूचीकरण हुन आउने सबै कम्पनीको हकमा दुईओटा आइजिन नम्बर लागु हुनेछन् ।
कार्यविधि लागु नहुँदै ‘लकइन’मा रहेका संस्थापक सेयरका लागि समेत छुट्टै आइजिन प्रदान गरिने कार्यविधिमा उल्लेख छ ।
‘कार्यविधि लागु हुनुपूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रको लागि एउटै आइजिन दिई लकइन अवधिमा भएका धितोपत्र समेतलाई निर्देशिका लागु भएपश्चात फरक आइजिन प्रदान गरिने छ’ प्रस्तावित निर्देशकामा भनिएको छ ।
प्रस्तावित निर्देशिकामा दुई आइजिन आवश्यक नपर्ने देखिएमा सम्बन्धित संस्थाको अनुरोधका आधारमा सिडिएससीले दुई आइजिन मर्जर गर्न सक्ने व्यवस्था गरिएको छ ।
दुई आइजिन मर्जरका लागि पनि संस्थाले साधारणसभाबाट पारित गरेको निर्णयको प्रमाणित प्रतिलिपि तथा मर्जर गराउने सम्बन्धी सूचना पत्रपत्रिकामा कम्तिमा २ पटक सार्वजनिक गरेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
कुनै धितोपत्रलाई एउटै आइजिन प्रदान गरिएकोमा त्यस्ता धितोपत्रका लागि प्रचलित कानुन बमोजिम फरक फरक आइजिन आवश्यक देखिएमा सम्बन्धित संस्थाको अनुरोधमा सिडिएससीले आइजिन छुट्याएर प्रदान गर्न सक्ने व्यवस्था पनि गरिएको छ । आइजिन छुट्याउन तथा मर्जरका लागि धितोपत्र बोर्डको स्वीकृति चाहिने कार्यविधिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्