चर्चाको शिखरमा रहेका कुलमानलाई उर्जामन्त्रीको जिम्मेवारी


काठमाडाैँ । विगत एक दशकयता सधैँ चर्चाको शिखरमा रहेका कुलमान घिसिङ उर्जामन्त्रीको जिम्मेवारीमा आएका छन् । 
करिब आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत प्राधिकरणको नेतृत्व सम्मालेकाे बेला नेपाल ’लोडसेडिङमुक्त’ घोषणा गरिएको थियो ।

विसं २०७३ सालकै तिहारबाट शहरहरूमा ‘लोडसेडिङ’ सकिएको जनाउँदै २०७५ साल वैशाखमा पूरै देशलाई करिब डेढ दशकदेखि विद्युत आपूर्तिमा जारी नियमित अवरोधबाट मुक्त बनाइएको थियो ।

उनै घिसिङले मुलुक अप्ठ्यारो परिस्थितिमा ग्रुजिरहेकै बेला उर्जामन्त्रीको रूपमा जिम्मेवारी सम्मालेका हुन् ।

अघिल्लो सरकारसँग टकराव

विसं २०७८ साउनमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा घिसिङ दोस्रो पटक प्राधिकरण प्रमुखमा घिसिङ पुनः नियुक्त भए । 
तत्कालीन ओली सरकार र उनीबिच टकराव देखियो । ऊर्जा, जलस्रोत एवं सिंचाईमन्त्री दीपक खड्का र उनीबिचको कहिल्यै कुरै मिलेन ।  

खास गरी उद्योगहरूमा डेडिकेटेड र ट्रङ्क लाइनको महशुल नतिरेका कारण प्राधिकरणले त्यहाँको विद्युत काट्ने र त्यसो गर्न नदिने मन्त्री–प्रधानमन्त्रीको जोडबलसँग विवाद भएको थियो ।

त्यससम्बन्धी विद्युत महशुलको विषयमा विवाद चर्किँदै गर्दा उद्योगीहरूको लाइन काट्ने घिसिङको कदमसँग तत्कालिन केपी ओली नेतृत्वको सरकार असन्तुष्ट बनेको थियो र उनीलाई सोही सरकारले ६ महिनाअघि पदबाट च्युत गराएको थियो ।