प्रदेश १ मा उद्योगहरुको औसत क्षमता उपयोग घट्यो, ५.९ प्रतिशत श्रमिकले रोजगारी गुमाए


काठमाडौं । प्रदेश नम्बर १ को उद्योगहरुको औसत क्षमता उपयोग घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रदेश नम्बर १ मा उद्योगहरुको औसत क्षमता उपयोग ५३.४ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७८ ७९ मा घटेर ५२.६ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/ ७९ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उद्योगहरुको औसत क्षमता उपयोग घटेको देखाएको छ ।

तयारी लत्ता कपडा उत्पादन गर्ने गार्मेण्ट उद्योग, सिन्थेटिक कपडा, फलामे छड तथा पत्ती, चप्पल जस्ता वस्तुहरु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औसत क्षमता उपयोगमा कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रदेश नं. १ का नमूना छनोटमा परेका उद्योगहरुको पछिल्लो पाँच वर्षको औसत क्षमता उपयोग ५७.८ प्रतिशत रहेको छ ।

उत्पादित वस्तु अनुसार तोरीको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९२.० प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.४ प्रतिशत रहेको छ ।

ठुला उद्योगहरुमा कार्यरत ५.९ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा यस अध्ययनमा समेटिएका ठुला ४२ उद्योगहरुमा कार्यरत ५.९ प्रतिशत श्रमिकले रोजगारी गुमाएका हुन् ।

२०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा कुल औद्योगिक कर्जा १६.५ प्रतिशतले घटेर रु.१ खर्ब २१
कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा ११.५ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार निर्माण, खानी र विद्युत ग्यास तथा पानी उत्पादन गर्ने उद्योगमा प्रवाह भएको कर्जा घटेकाले समग्र औद्योगिक कर्जा घटेको देखिएको हो ।

२०७९ असार मसान्तसम्म प्रदेश १को बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित
कर्जाको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।