शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन


काठमाडाैँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयअन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ति अन्त्य गर्न निर्देशन दिएका छन् ।

सोमवार पदभार ग्रहण लगत्तै उनले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले आफूलाई बस्नका लागि क्वाटर नचाहिने भन्दै मन्त्रालयमै सुत्नेगरी खाटको व्यवस्था गर्न निर्देशन दिए।

उनले मन्त्री नियुक्त हुनुअघि नै राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि बताए ।

उनले भने,”शिक्षा मन्त्रालयको हरेक विभागबाट हुने काममा ढिलासुस्ति नगर्नुहोस् । शिक्षा मन्त्रालयमा ढिलासुस्ति गर्दा कस्तो समस्या हुन्छ भन्ने मैले भोगेको छु ।”

उनले आफूलाई सुरक्षा नचाहिने र औपचारिक कामको लागि मात्र सरकारी गाडीको प्रयोग गर्ने पनि बताए ।