काठमाडाैँ । आज देशभर बडादसैँको मुख्य दिन विजया दशमी हर्ष र उमंगसहित मनाइँदै छ। दसैँका दिनहरूमा सबैभन्दा महत्त्वपूर्ण मानिने यस दिन मान्यजनका हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्ष टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ। तर परम्परा अनुसार दिनभरि नै टीका थाप्न सकिने भएकाले धेरैले परिवार र आफन्तसँग मेलमिलाप गर्दै आजको दिनलाई विशेष बनाइरहेका छन्।
विजया दशमीमा घटस्थापनाको घडाबाट विधिपूर्वक अभिषेक गरी नवदुर्गा भवानीको प्रसादका रूपमा टीका लगाइन्छ। यस अवसरमा आमा-बुबा, हजुरबुबा-हजुरआमा, गुरु पुरोहित तथा मान्यजनले सन्तान, आफन्त र नातेदारलाई टीका र जमरा लगाइदिँदै यश, ऐश्वर्य, दीर्घायु र समृद्धिको आशीर्वाद दिने परम्परा रहिआएको छ।
समितिका अनुसार टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने धार्मिक चलन पनि विद्यमान छ।
दसैँले मात्र मेलमिलाप र आशीर्वादको अवसर दिँदैन, टाढा भएका परिवारजनलाई भेटघाट गर्ने समय पनि बनाइदिन्छ। आज उपस्थित नभई सकेकाहरूले आश्विन शुक्ल पूर्णिमासम्म पनि मान्यजनबाट टीका र जमरा ग्रहण गर्न सक्ने धार्मिक परम्परा छ।
त्यसैगरी, घटस्थापनामा राखिएको पहेँलो जमरा समृद्धिको प्रतीकका रूपमा ग्रहण गरी विजयादशमीलाई नवजीवन, विश्वास र आत्मीयतासहित मनाउने चलन आजसम्म निरन्तर रहिआएको छ।




प्रतिक्रिया दिनुहोस्