बाराको सिमरामा प्रशासनले आज पनि लगायो कर्फ्यू


काठमाडाैँ । बारा जिल्लामा आजपनि सिमरा विमानस्थल र जीतपुर–सिमरा आसपासका क्षेत्रमा दिउँसो १ बजे देखि बेलुका ८ बजे सम्म कर्फ्यू लागू गरिएको छ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम जनधनको क्षति हुन नदिन तथा प्रदर्शन, जुलुस र सभा–बैठक रोक्न कर्फ्यूको व्यवस्था गरिएको हो।

कर्फ्यू लागू हुने क्षेत्रहरूमा विरगंज–पथलैया सडक खण्डको पथलैया चोकदेखि जीतपुर लल्का पुलसम्मको राजमार्ग र यसको दायाँ–बायाँ ५०० मिटर, साथै सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्र समावेश छन्।

यस अवधिभर अत्यावश्यक सेवा सञ्चालन गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन तथा हवाई टिकटका आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूले सहजीकरण गर्ने जनाइएको छ।

नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बनेको हाे ।