काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई सरकारी सुविधाको प्रयोग सम्बन्धी निर्देशन दिएको छ।
मन्त्रालयले राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसअनुसार, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र पदाधिकारीहरूले सरकारी सवारी साधन, इन्धन, भान्से र आवास सुविधा आदिको दुरुपयोग नगर्ने सुनिश्चित गर्नुपर्ने जनाएको छ।
सन्दर्भअनुसार, केही स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले विवाह, व्रतबन्ध, मलामी, घुमफिर लगायत व्यक्तिगत प्रयोजनका लागि सरकारी सवारी साधन प्रयोग गरेको, हिमाली जिल्लाका पदाधिकारीहरूले निजी कामका लागि काठमाडौँ आउजाउमा सरकारी साधन र इन्धन खर्च गराएको उजुरी सतर्कता केन्द्रमा प्राप्त भएको थियो। त्यस्तै, कानुन विपरीत भान्से र आवास सुविधा प्रयोग गरेर करोडौं रुपैयाँ खर्च गर्ने कार्यसमेत भएको पाइएको छ।
मन्त्रालयले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८(१)(छ) अनुसार आवश्यक कार्यविधि र मापदण्ड बनाएर पालना गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ। सो निर्देशनको कार्यान्वयनको जानकारी मन्त्रालय मार्फत सतर्कता केन्द्रलाई उपलब्ध गराउन स्थानीय तहहरूलाई अनुरोध गरिएको छ। यस परिपत्रको पालना नगरेमा कानूनी कारबाही समेत हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्