ग्वालियर (भारत) । भारतको मध्य प्रदेश प्रान्तको ग्वालियरस्थित ऐतिहासिक १२५ वर्ष पुरानो शीतला माता मन्दिर परिसरबाहिर आइतबार भएको भयानक ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने २५ भन्दा बढी श्रद्धालु घाइते भएका छन्। पूजाका लागि मन्दिरबाहिर उभिएका भक्तजनहरूको भिडमा तीव्र गतिमा आएको अनियन्त्रित ट्रक पसेपछि उक्त दुर्घटना भएको हो।
समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार प्रहरीले चालकले मदिरा सेवन गरे/नगरेको, गुगल म्याप्सले देखाएको ‘सर्टकट’ रुट पछ्याउँदा दुर्घटना भएको हो कि भन्ने विषय र प्रहरी चेकपोस्टको गम्भीर लापरवाहीबारे अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार धान लोड गरिएका दुईवटा ट्रक ठूला तथा भारी सवारीसाधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको सडकमा छिरेका थिए। नियमविपरीत ती ओभरलोड ट्रकहरूले उक्त प्रतिबन्धित मार्गमा करिब ७ किलोमिटर यात्रा गरिसकेपछि एउटा ट्रक मन्दिर नजिक पुगेर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनालगत्तै घटनास्थलबाट फरार भएका चालक दिल्ली निवासी बिल्बाग सिंहलाई प्रहरीले केही घण्टामै नियन्त्रणमा लिएको छ। झांसी रोड थानाका कार्यवाहक प्रमुख आशिष शर्माका अनुसार चालक सिंह मन्दिर नजिकै डराएर अवस्थामा लुकिरहेको फेला परेका थिए। चालकमाथि मदिरा परीक्षण गर्नुका साथै घटनाबारे विस्तृत सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्