समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया सुरू गर्न आयोगमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


काठमाडाैँ । समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

सोमवार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय स्थापना गरिएको हो । समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगका सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ ।

नेपालमा संवैधानिक व्यवस्था बमोजिम दुई वटा निर्वाचन प्रणाली छ । एउटा प्रत्यक्ष निर्वाचन प्रणाली रहेको छ भने अर्को समानुपातिक निर्वाचन प्रणाली हो । पदभार ग्रहण गर्दै सचिव पन्थले प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा दुई वटा प्रणाली रहेका र त्यसमध्ये एउटा प्रत्यक्ष निर्वाचन प्रणाली र अर्को समानुपातिक निर्वाचन प्रणाली भएको बताए।

समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन पद्धति कायम गर्न र सञ्चालन गर्नका लागि आयोगको सचिवलाई निर्वाचन अधिकृत तोकेर समानुपातिक निर्वाचन प्रणालीका कार्यक्रम अघि बढाउने व्यवस्था रहेको पनि बताए ।

सोही बमोजिम सोमवार आयोगले आयोगमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ समानुपातिक निर्वाचन प्रणाली निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुका साथै आयोगका सचिव पन्थलाई निर्वाचन अधिकृत तोकेको हो । आयोगमा कार्यालय स्थापनासहित निर्वाचन अधिकृत पन्थले पदभार ग्रहण समेत गरेका थिए ।