अवैध रूपमा लोड गरिएको ६० क्विन्टल युरिया मल पाल्पामा बरामद


काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध रूपमा ढुवानी भइरहेको ठूलो परिमाणको युरिया मल बरामद गरेको छ।

मंगलबार राति करिब करिब ९ बजे बगनासकाली गाउँपालिका वडा नम्बर ३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा नियमित गस्ती चेकजाँचका क्रममा प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटिएको टोलीले लु.प्र. ०१–००१ ख ०९५९ नम्बरको मिनी ट्रक रोकेर जांच गर्दा ट्रकभित्र विना बिल–बिजक लुकाइ ल्याइँदै गरेको १२० बोरा (६० क्विन्टल) युरिया मल फेला पारेको हो।

उक्त मल किसान युरिया वितरक, कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर–काठमाण्डौ लेखिएको अवस्थामा रहेको प्रहरीको भनाइ छ।

ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।