भारतसँगको व्यापार घाटा घटाउन र लगानी प्रवर्द्धन गर्न संयुक्त पहल आवश्यकः अध्यक्ष श्रेष्ठ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–भारतबीचको व्यापार घाटा न्यूनीकरण, लगानीका अवरोध हटाउन र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन्।

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले भन्सार प्रक्रिया सरलीकरण, सीमा पूर्वाधार सुधार र नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार आर्थिक वर्ष २०२५र२६ मा नेपाल र भारतबीचको कुल द्विपक्षीय व्यापार करिब १०।१ अर्ब अमेरिकी डलर पुगेको छ। यस अवधिमा नेपालले भारततर्फ १।७८ अर्ब डलरको वस्तु निर्यात गर्दा भारतबाट ८।३२ अर्ब डलरको आयात गरेको थियो। व्यापार असन्तुलन घटाउन नेपाली निर्यात क्षमता बढाउने र उत्पादनमूलक क्षेत्रमा भारतीय लगानी आकर्षित गर्नुपर्ने उनको भनाइ छ।

श्रेष्ठले नेपाली स्टिल, जुत्ता तथा प्लाइवुडजस्ता उत्पादनले भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणीकरण प्रक्रियामा ढिलाइ बेहोर्नुपरेको उल्लेख गर्दै त्यसलाई सरल र प्रभावकारी बनाउन आग्रह गरे। नेपाली जुटजन्य उत्पादनमा लगाइएको प्रतिडम्पिङ शुल्कको समस्या समाधान गर्न पनि उनले दुवै सरकारबीच समन्वय आवश्यक रहेको बताए।

उनले जलविद्युत्, विद्युत् प्रसारण पूर्वाधार, पर्यटन, सूचना प्रविधि तथा निर्यातमुखी उद्योगमा भारतीय लगानीको सम्भावना औँल्याउँदै स्पष्ट नीति र लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए। रामायण सर्किट, बौद्ध सर्किट तथा वेलनेस पर्यटनको प्रवर्द्धन र हवाई तथा यातायात सम्पर्क विस्तारले पनि दुई देशबीचको आर्थिक सम्बन्ध बलियो बनाउन सक्ने उनको भनाइ छ।

श्रेष्ठका अनुसार सन् २०२५ मा २ लाख ९२ हजार ४३८ भारतीय पर्यटक नेपाल आएका थिए, जुन कुल पर्यटक आगमनको २५.२ प्रतिशत हो। भारतीय पर्यटकको ठूलो हिस्सालाई नेपालको पर्यटन विकास र आम्दानी वृद्धिका लागि उपयोग गर्नुपर्ने उनले बताए।