काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसाबले कमजोर भएकाले उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सड़क दुर्घटना न्यूनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आर्थिक सीमितताको कारण एकैपटक सबै पूर्वाधार विस्तार गर्न कठिन हुने स्पष्ट पारे ।
उहाँका अनुसार सडकमा ट्राफिक लाइट जडान, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना विस्तार जस्ता कामहरू सरकारको प्राथमिकतामा भए पनि आर्थिक अवस्थाले तत्कालै सबै काम गर्न नसक्ने अवस्था छ।
मन्त्री गुप्ताले ट्राफिक नियमलाई व्यक्तिगत व्यवहारमै लागू गर्न आग्रह गर्दै, नियमको वास्तविक प्रभाव नागरिकको अनुशासनमा निर्भर रहने बताए।
उनलेभने, “ट्राफिक नियम जीवन र व्यवहारमा कार्यान्वयन गरौँ। सकारात्मक दृष्टिकोण बिना कुनै पनि कार्यक्रम सफल हुँदैन। चालक–सहचालक र ट्राफिकबीच परस्पर विश्वास र सकारात्मकता आवश्यक छ।”
सरकारले गर्नुपर्ने काम निरन्तर अघि बढाइने उल्लेख गर्दै मन्त्री गुप्ताले उपलब्ध स्रोत–साधनकै प्रभावकारी प्रयोगबाट पनि महत्वपूर्ण परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे।
मन्त्री गुप्ताको भनाइमा, सकारात्मक सोच र सहकार्यका साथ अघि बढे सबै काम क्रमशः सफल हुँदै जानेछन्।



प्रतिक्रिया दिनुहोस्