काठमाडौँ । नेपालको अग्रणी व्यावसायिक घराना गोल्याण ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्याण चयन भएका छन् । विगत ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका अक्षय अब ६ दशक लामो विरासत बोकेको ग्रुपलाई नेतृत्व गर्नेछन् ।
ग्रुपले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो वार्षिक उत्सवको अवसरमा यस्तो घोषणा गरिएको जनाएको छ । पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष बासुदेव गोल्याणले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको औपचारिक घोषणा गरेका थिए ।
“अक्षय गोल्याण अब ग्रुपको अध्यक्ष र प्रबन्ध निर्देशकको भूमिकामा रहनुहुनेछ, कार्यकारी अधिकारसहित बोर्डको नेतृत्व एकै ठाउँमा केन्द्रित हुनुले गोल्याण ग्रुपको विकास, विस्तार र विश्वव्यापी उपस्थिति थप प्रभावशाली हुने विश्वास गरिएको छ,” ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेसन्स एन्ड पब्लिक रिलेसन्स प्रमुख ज्योति गैह्रैद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अक्षयले विश्वका ‘उत्कृष्ट १० भित्र’ पर्ने स्पेनको इ एस ए डि इ यूनिभर्सिटीबाट बिजनेस स्टडिजमा स्नातकोत्तर गरेका छन् । अध्ययन पश्चात ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले ग्रुप अन्तर्गतका अन्य कम्पनीहरूलाई समेत प्रत्यक्ष नेतृत्व प्रदान गरिरहेका विज्ञप्तिमा उल्लेख छ ।
गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो ।
६ दशक लामो इतिहास बोकेको ग्रुपमा करिब १० हजार कर्मचारी कार्यरत छन् । ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको ग्रुपको वार्षिक कारोबारमात्र ४ सय मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ ।

“यो केबल पदभार ग्रहणमात्र होइन, यो एउटा विरासतलाई आधुनिक युगमा रुपान्तरण गर्ने जिम्मेवारी पनि हो,” जिम्मेवारी ग्रहणपश्चात अध्यक्ष गोल्याणले भनेका छन्, “गोल्याण ग्रुपलाई अब नेपालको सिमानाभन्दा बाहिर एक अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित गर्न प्रतिवद्ध छौँ । हाम्रो ध्यान अब नवप्रवर्तन, दिगो विकास र संस्थागत सुशासनमा केन्द्रित हुनेछ ।”
सञ्चालक समितिले ग्रुपका संस्थापक अध्यक्ष पवन गोल्याणलाई ‘सम्मानित अध्यक्ष’ र प्रमुख संरक्षकको सम्मान दिएको छ ।
नेपालको अर्थतन्त्र र ग्रुपको विकासमा पुर्याएको अतुलनीय योगदानको कदर सञ्चालक समितिले उक्त सम्मान दिएको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्