जेनजी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जेनजी आन्दोलनबाट घाइते, शहीद परिवारका १ हजारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने तयारी भएको बताएका छन् ।

गोरखापत्रसंस्थानले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग समझदारी गर्न लागिएको बताएका हुन् ।

उनकाअनुसार शहीद परिवार र घाइतेलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाइनेछ र उनीहरूले सिकेको सीप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ । त्यसका लागि प्रभावकारी कदम सरकारले चाल्ने उनले बताए ।

“यहाँको विद्यमान अवस्थाले चाहे व्यापारिहरुलाई होस् चाहे उद्योगीलाई होस् के भनिरहेको हुन्छ भने यहाँ उद्योग नगर सुरक्षित छैन । श्रम गर्ने मान्छेलाई पनि के गरिरहेको हुन्छ भने तिमी जाउ यहाँ गरिखाने ठाउँ छैन । तर हामी भनिरहेका छौं, आउनुस् यहाँ काम गरेर खाने वातावरण छ,”उनले भने ।

भण्डारीले केही गर्न खोज्नेलाई मुलुकमा प्रताडित गराउन खोजिएको बताउँदै त्यस्तो गतिविधिहरु रोकिनुपर्ने समेत बताए ।