काठमाडौँ । देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रभावका कारण आगामी २४ घण्टामा मौसममा आंशिक परिवर्तन देखिने अनुमान गरिएको छ।
आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका तराई क्षेत्रमा मध्यान्हसम्म र बाँकी तराई भू–भागमा मध्यान्हपछि पनि कुहिरो लाग्ने सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु कायम रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने र बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ।
यस अवधिमा पनि गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा छिटपुट रूपमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्