स्याङ्जाकाे फेदीखोलामा अवैध पेट्रोल बिक्री गरेकाे आराेपमा एक व्यक्ति पक्राउ


काठमाडाैँ । अवैध रूपमा पेट्रोल सञ्चय गरी बिक्री वितरण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले एकजनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब ११ बजे प्राप्त सूचनाको आधारमा फेदीखोला गाउँपालिका–२ स्थित “गंगा एग्रोभेट पसल”मा अवैध रूपमा पेट्रोल बिक्री गर्न राखिएको अवस्थामा फेला परेको थियो।

पक्राउ परेका व्यक्ति ४२ वर्षीय गंगा प्रसाद पौडेल हुन्। नियन्त्रणमा लिइएको अवस्थामा करिब २४.५ लिटर पेट्रोल बरामद गरिएको प्रहरीको जानकारी छ।

प्रहरीले निजलाई कालोबजार सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिएको छ।

पक्राउ परेका पौडेललाई यसअघि पनि अवैध पेट्रोल बिक्री–वितरण गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट २० हजार रुपैयाँ जरिवाना गरी छाडिएको खुलेको छ।