काठमाडौँ । नेपाल राष्ट्र बैंकले भर्चुअल सम्पत्ति (भिए) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकको वित्तीय जनाकारी इकाईको प्रतिवेदन अनुसार नेपालमा भिएसँग सम्बन्धित गतिविधिहरू गैरकानूनी भपनि यसमा धेरै भूमिगत र सीमापार योजनाहरू समावेश भएको जनाएको छ । नेपालमा यसको अनौपचारिक र प्रायः अवैध प्रयोग भइरहेको छ ।
नेपालमा भिए तथा सोसम्बन्धी गतिविधिबाट उत्पन्न हुने सम्पत्ति शुद्धीकरण, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी सम्बन्धी जोखिमहरूको विश्लेषणलाई प्रतिवेदनमा प्रस्तुत गरेको छ ।
वित्तीय जानकारी इकाइले सञ्चालन गरेको गोएएमएल प्रणालीमा सन् २०२१, जनवरीदेखि २०२५, जुलाईसम्म प्राप्त भएका शङ्कास्पद कारोबार/गतिविधि प्रतिवेदन (एसटिआर एसएआर) तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोतबाट प्राप्त तथ्याङ्क र अन्तर्राष्ट्रिय रणनीतिक विश्लेषणका आधारमा प्रतिवेदन तयार गरिएको उल्लेख गरिएको छ ।
कुनै निश्चित मुद्दा, संस्था, व्यक्तिमा केन्द्रित नभई भिएको दुरुपयोगको विधि, प्रवृत्ति, ढाँचा र जोखिमका सूचक÷सङ्केतहरू पहिचानमा केन्द्रित भएर प्रतिवेदन बनाएको हो । राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, स्टेबल क्वाइन, युटिलिटी टोकन, सेक्युरिटी टोकन, टोकनाइज्ड एसेट्स, नन फङ्जिबल टोकन्सहरूलाई भर्चुअल सम्पतिमा वर्गीकरण गरेको छ ।
नेपालमा भिए सम्बन्धी गतिविधि कानुनी रूपमा निषेधित भए तापनि त्यस्ता गतिविधिहरू अवैध वैदेशिक विनिमय कारोबार (हुन्डी कारोबार), अनलाइन वित्तीय ठगी, अनलाइन जुवा, व्यवसायको वास्तविक प्रकृति लुकाई गरिने कारोबार, तथा मनी–म्युलको प्रयोग जस्ता आपराधिक क्रियाकलापसँग जोडिएर हुने गरेको विश्लेषणले देखाएको छ ।
यस्ता गतिविधिले औपचारिक वित्तीय प्रणालीलाई छल्दै सीमापार मूल्य स्थानान्तरण (क्रस बोर्डर भ्यालू ट्रान्सफर), तहगत कारोबार तथा अवैध आम्दानी लुकाउने कार्यलाई सहज बनाउन सक्ने देखिएको उल्लेख गरिएको छ ।
वित्तीय जानकारी इकाईका अनुसार ५ वर्षमा भिएसँग सम्बन्धित ६५८ शंकास्पद कारोबार रिर्पोट र शंकास्पद गतिविधि रिर्पोट प्राप्त भएको थियो । जसमा सन् २०२४ मा सबैभन्दा बढी २५२ ओटा रिर्पोट प्राप्त भएको थियो ।
यो रिर्पोट सबैभन्दा बढी वाणिज्य बैंकहरूले गरेका थिए । वाणिज्य बैंकहरूले ६०० रिर्पोट गरेका थिए भने विकास बैंकहरूले ४८ रिर्पोट गरेका थिए ।
राष्ट्र बैंकले १०० ओटा रिर्पोटको अध्ययन गर्दा २१ देखि ३५ वर्षका ७५ जना यसमा जोडिएको देखिएको छ । यस प्रतिवेदनका अनुसार युवाहरू अवैध कारोबारमा जोडिएको देखिन्छ । यसमा २९ विद्यार्थी, २१ कर्मचारी र १९ जना विभिन्न व्यवसायमा आवद्ध रहेका थिए ।
भर्चुअल सम्पत्तिमा जोडिएकाहरूको शंकाको कारण ४२ प्रतिशतले डिजिटल प्लेटफर्म मार्फत असम्बन्धित पक्षहरूसँग बारम्बार कारोबार गरेका थिए । २६ प्रतिशतले क्रिप्टो कारोबार गर्न बैंकिङ् च्यानल प्रयोग गरेका थिए । क्रिप्टो कारोबार गर्न व्यक्तिगत खाताको प्रयोग १६ प्रतिशतले गरेको जनाइएको छ ।
हुन्डी कारोबार गर्न औपचारिक बैंकिङ च्यानलहरू बाइपास गर्न भर्चुअल सम्पत्तिहरू, विशेष गरी क्रिप्टो वा बिटकोइन प्रयोग गर्ने गरेको देखिएको छ । नेपालमा, अनलाइन ठगीबाट प्राप्त भएको पैसा क्रिप्टोकरेन्सी कारोबार हुने गरेको छ । सरकारले भर्चुअल सम्पत्तिमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
वैध देखिने व्यवसायको प्रयोग गरेर नेपाल लगायत विश्वभर ठगी गतिविधिहरू वित्तीय अपराधहरूको आवरणमा हुने गरेको देखिएको उल्लेख गरिएको छ । नेपालमा भर्चुअल सम्पत्तिमा मनी म्यूलको प्रयोग बढ्दोरूपमा देखिएको छ । यो विधि अपराधीहरूले औपचारिक वित्तीय प्रणालीलाई बाइपास गर्न र अवैध रकम लुकाउन प्रयोग गर्ने गरेका छन् । अनलाइन जुवा र क्रिप्टोकरेन्सीहरूको अन्तरसम्बन्ध नेपालको लागि अर्को चुनौती रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्