धादिङको सिद्धलेकमा विपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना, ६ सय स्थानीय लाभान्वित


काठमाडाैँ । धादिङस्थित सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का दुर्गम क्षेत्रका विपन्न नागरिकलाई सशस्त्र प्रहरी बल धादिङले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ।

कार्यक्रमअन्तर्गत स्थानीय जनतालाई सामान्य रोगको औषधिसहित उपचार, गर्भवती महिलाको स्वास्थ्य जाँच, दन्त उपचार, भिडियो एक्सरे र पाठेघरको क्यान्सर रोगको औषधि उपचार उपलब्ध गराइएको थियो।

सशस्त्र प्रहरी नायव उपरीक्षक माला अवाले करिव ६ सय जनाले यस सेवाबाट लाभ लिएकाे जानकारी दिइन्। कार्यक्रममा ज्येष्ठ नागरिकका लागि न्यानो कपडा र विद्यार्थीका लागि झोलासहितका शैक्षिक सामग्री पनि वितरण गरिएको थियो।

उनले भनिन्,“गरिब तथा दुर्गम क्षेत्रका जनताका लागि जनरल स्वास्थ्य जाँच, गर्भवती महिलाको उपचार, आङ खस्ने रोगको औषधि उपचार निःशुल्क प्रदान गरेका छौँ। साथै ज्येष्ठ नागरिकलाई न्यानो कपडा र विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेका छौँ।”

शिविर सशस्त्र प्रहरी बल नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको थियो। कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा पनि उपस्थित थिए। कार्यक्रममार्फत विपन्न वर्गलाई राहत दिन सकिएकोमा सशस्त्र प्रहरी बलले खुशी व्यक्त गरेको छ।