माध्यमिक तहपछि विद्यालय उपस्थिति घट्दो, १५–१९ वर्षका चारमध्ये एक किशोर विद्यालय बाहिर


काठमाडाैँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत दुई ओटाप्रतिवेदन सार्वजनिक गरेको छ । 

मंगलवार कार्यालयमा एक कार्यक्रमका बिच ‘नेपालमा शिक्षा र समावेशिता’ तथा ‘नेपालमा बालबालिकाको अवस्था’ विषयक प्रतिदेनहरु सार्वजनिक गरिएका हुन् ।

प्रतिवेदनअनुसार पाँच वर्षको उमेरपछि विद्यालय जाने दर उच्च भएपनि माध्यमिक तहपछि विद्यालयमा उपस्थितिको दर न्युन देखाएको छ । अझैपनि १५–१९ वर्ष उमेर समूहका प्रत्येक चार जनामध्ये एकजना विद्यालयभन्दा बाहिर रहेको कार्यालयद्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार २०६८ सालदेखि २०७८ सालसम्मको १० वर्षको अवधीमा साक्षरता दर १६ प्रतिशतले वृद्धि भएको छ । १८ वर्षमुनिका बालबालिकाको दर लगभग शतप्रतिशत पुगेको कार्यालयद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रादेशिक रुपमा  बागमती र गण्डकी प्रदेशको साक्षरता दर सबैभन्दा धेरै  ९५ प्रतिशत रहेको छ ।

बालबालिकासम्बन्धी प्रतिवेदनअनुसार नेपालमा कुल ९८ लाख ६९ हजार ५८३ बालबालिका रहेका छन् जुन कुल जनसंख्याको ३४ प्रतिशत हो । प्रादेशिक रूपमा बालबालिकाको संख्यामा गहिरो असमानता देखिएको छ ।

मधेस र लुम्बिनी प्रदेशमा बालबालिकाको उपस्थिति तुलनात्मक रूपमा उच्च छ भने कोशी र गण्डकी प्रदेशमा न्युन रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले बालबालिकाको आर्थिक गतिविधि, अपाङ्गता, जन्मदर्ता, बसाइँसराइ र पारिवारिक संरचनासम्बन्धी सूचकहरूमा समेत उल्लेखनीय प्रादेशिक भिन्नता रहेको देखाएको छ ।

केही प्रदेशमा बालश्रम, अपाङ्गता भएका बालबालिकाको अनुपात र जन्मदर्ताको अवस्था चिन्ताजनक रहेको प्रतिवेदनको निष्कर्ष छ ।