नर्वे र डब्लुएचओको सहयोगमा नेपाललाई आधुनिक उपकरण तथा तालिम सामग्री हस्तान्तरण


काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले आपतकालीन स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न नर्वे सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको सहयोग महत्वपूर्ण रहेको बताएकी छिन् ।

काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच मन्त्री गौतमले विपद् व्यवस्थापन र आकस्मिक सेवाका लागि प्राप्त आधुनिक उपकरण तथा तालिम सामाग्रीले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले हालैको आगलागीमा मन्त्रालयअन्तर्गतका धेरै महत्वपूर्ण उपकरणहरू गुमेको स्मरण गराउँदै, नर्वे सरकारको यो सहयोगले ती क्षतिहरूको परिपूर्ति गर्ने बताइन् ।

नेपाल भूकम्प, बाढीजस्ता विभिन्न प्राकृतिक विपद्को उच्च जोखिममा रहेको तथ्य औंल्याउँदै मन्त्री गौतमले पूर्वतयारी र प्रतिकार्यमा तीनै तहका सरकार गम्भीर रहेको प्रष्ट पारिन् ।

उनले एचइओसीको नेतृत्व र विभिन्न सरकारी तथा साझेदार निकायहरूसँगको समन्वयमा विपद् व्यवस्थापन कार्य भइरहेको बताउँदै विशेषगरी डब्लुएचओले प्राविधिक सहयोग र एचइओसी ल्याव स्थापनामा खेलेको भुमिकाको प्रशंसा गरिन् ।

एम्बुलेन्स चालकदेखि चिकित्सकसम्मले तालिमको प्रशंसा गरेको वृत्तचित्र हेरेपछि उहाँले यो सहयोगले तालिम कार्यक्रमलाई बलियो बनाउने विश्वास व्यक्त गरिन् ।

मन्त्री गौतमले केवल एकपटकको तालिम पर्याप्त नहुने भन्दै स्वास्थ्यकर्मीहरूका लागि निरन्तर अभ्यासको आवश्यकतामा विशेष जोड दिइन् ।