-सविन धमला
नेपालको राजनीतिक इतिहासको कालखण्डलाई सुक्ष्म ढङ्गले केलाउँदा हामी यतिबेला एउटा अभूतपूर्व, संवेदनशील र विरोधाभासपूर्ण सङ्क्रमणकालको साक्षी बनिरहेका छौं ।
२००७ सालको जनक्रान्तिदेखि २०६२/६३ सालको जनआन्दोलनसम्मका हाम्रा राजनीतिक लडाइँहरू एक हिसावले सरल रेखामा हिँडेका थिए । ती लडाइँहरूको चरित्र र उद्देश्य स्पष्ट थियो । ती लडाइँहरू नितान्त रूपमा ‘व्यवस्था’ परिवर्तनका खातिर थिए ।
कहिले जहानियाँ राणा शासनका विरुद्ध प्रजातन्त्रको खोजी, कहिले निर्दलीय पञ्चायतका विरुद्ध बहुदलीयताको वकालत, त कहिले निरंकुश राजतन्त्रका विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना । ती ऐतिहासिक कालखण्डहरूमा शत्रु र मित्रको कित्ताकाट स्पष्ट थियो, र गन्तव्य पनि संविधानसभा वा नयाँ संविधानमार्फत पुरानो संरचनाको अन्त्य भन्नेमा केन्द्रित थियो ।
इतिहासको नयाँ मोड र चेतनाको सङ्क्रमणकाल
आज हामी जुन लडाइँको मैदानमा उभिएका छौं, त्यो हिजोको भन्दा नितान्त फरक, अमूर्त, जटिल र मनोवैज्ञानिक छ । आजको लडाइँ व्यवस्था परिवर्तनको होइन, यो ‘पात्र’, ‘प्रवृत्ति’, ‘कार्यशैली’ र ‘संस्कार’ बिचको महासंग्राम जस्तो देखिन्छ । यो लडाइँ संविधानको धारा फेर्ने विषयमा होइन, बरु संविधानको मर्मलाई कसरी अभ्यास गर्ने भन्ने विधि र नियतको द्वन्द्व हो । यो ‘प्रणाली’ जोगाउने कि ‘परिणाम’ का लागि प्रणाली नै भत्काउने भन्ने द्वन्द्व हो ।
यो महासंग्रामको केन्द्रमा आज दुईवटा विपरित ध्रुवहरू स्पष्ट रूपमा देखिन थालेका छन्, जसले आगामी दशकको नेपालको भविष्य निर्धारण गर्नेछन् । एकातिर दशकौं लामो राजनीतिक इतिहास, संसदीय अभ्यास, उदारवादी दर्शन र लोकतान्त्रिक विधिलाई मूलमन्त्र मान्ने ‘संस्थागत सुधारवादी धार’ छ, जसको सबल प्रतिनिधित्व नेपाली कांग्रेसका नेताद्वय गगन थापा र विश्वप्रकाश शर्माहरूले गरिरहेका छन् ।
विश्लेषणको सहजताका लागि हामी यसलाई ‘गवि’ प्रवृत्ति भनेका छौं । यो धारले लोकतन्त्रलाई एउटा प्रक्रिया, विधि र संस्थागत स्मृतिको रूपमा ग्रहण गर्छ । अर्कोतिर जनताको चरम निराशा, आक्रोश, प्रविधिको बल र ‘एन्टी–इस्टाब्लिसमेन्ट’ सेन्टिमेन्टको जगमा उदाएको ‘आवेगपूर्ण पपुलिस्ट धार’ छ, जसको प्रतिनिधित्व काठमाडौंका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेहरूले गरिरहेका छन् । यसलाई हामी ‘बार’ प्रवृत्ति भनेका छौं ।
सतहमा हेर्दा यो चुनाव जित्ने प्रतिस्पर्धा वा पुरानो र नयाँ दलको लडाइँ मात्र देखिएला, तर यसको अन्तर्यमा पस्ने हो भने यो नेपालको लोकतन्त्र कता जाने भन्ने अस्तित्वको लडाइँ हो । के नेपाल विधि, प्रक्रिया र संस्थाहरू बलियो भएको ‘सिस्टमेटिक लोकतन्त्र’ बन्नेछ ? वा, नेपाल भीडको मनोविज्ञान, तत्कालको नतिजा र व्यक्तिको सनकमा चल्ने ‘लोकप्रिय तानाशाही’ तर्फ धकेलिँदैछ ? यो प्रश्नको उत्तर कुनै नेताको भाषणमा होइन, नेपालको ‘मध्यम वर्ग’ को चेतना, उसको आगामी कदम र उसले लिने निर्णयमा लुकेको छ ।
डिजिटल कुरुक्षेत्रः एल्गोरिदमले निर्माण गरेको ‘सत्य’ र लोकतान्त्रिक विमर्शको अन्त्य
यो द्वन्द्वलाई बुझ्न हामीले सबैभन्दा पहिले आजको ‘चेतना’ कसरी निर्माण भइरहेको छ भन्ने कुरा बुझ्नुपर्छ । हिजोको जनमत चिया पसलका गफ, पत्रपत्रिकाका सम्पादकीय, पुस्तकहरू र एफएम रेडियोका बहसहरूबाट निर्माण हुन्थ्यो, जहाँ तर्क, प्रति–तर्क र विमर्शको गुन्जायस हुन्थ्यो । तर आजको जनमत सिलिकन भ्यालीका ‘एल्गोरिदम’ हरूले निर्देशित गरिरहेका छन् ।
हामी यस्तो युगमा प्रवेश गरेका छौं जसलाई ‘पोस्ट–ट्रुथ एरा’ भनिन्छ, जहाँ तथ्यभन्दा भावना र विश्वास बढी शक्तिशाली हुन्छ । फेसबुक, टिकटक र ट्विटरको संरचना नै यस्तो छ कि यसले शान्त, सौम्य, तर्कपूर्ण र गहिरो विचारलाई ‘हत्या’ गर्छ भने आक्रोश, उत्तेजना, घृणा र सतही स्टन्टलाई ‘पुरस्कृत’ गर्छ ।
‘बार’ प्रवृत्तिको उदयमा यही ‘डिजिटल इकोसिस्टम’ को निर्णायक भुमिका छ । मानिसको कुनै विषयमा ध्यान दिने क्षमता १५ सेकेन्डमा झरेको छ । गगन थापाले संसदमा उभिएर देशको अर्थतन्त्र, शिक्षा विधेयक वा स्वास्थ्य बिमाबारे गरेको १५ मिनेटको तर्कपूर्ण भाषणलाई टिकटकको १५ सेकेन्डको ‘डोजर चलाएको’ वा ‘कर्मचारी थर्काएको’ भिडियोले निलेकाछन् । किनकि १५ सेकेन्डको भिडियोले दिमागमा तुरुन्तै ‘डोपामाइन’ रिलिज गर्छ, र हेर्नेलाई ‘ओहो ! काम त यस्तो पो हुनुपर्छ’ भन्ने भ्रम सिर्जना गर्छ ।
एल्गोरिदमले हामीलाई यस्तो ‘इको च्याम्बर’ मा कैद गरिदिएको छ कि, हामी आफ्नो विचारसँग नमिल्ने तर्क सुन्नै चाहँदैनौं । यसले समाजमा ‘नकारात्मकताको लत’ बसालेको छ । जनतालाई ‘समाधान’ भन्दा ‘विनाश’ मा र ‘निर्माण’ भन्दा ‘विध्वंश’ मा बढी आनन्द आउन थालेको छ ।
यो मनोविज्ञानले लोकतन्त्रको आधारभूत चरित्र– जो धैर्यता, संवाद, असहमति बीचको सहमति र प्रक्रियामा आधारित हुन्छ, त्यसलाई नै ध्वस्त बनाउँदैछ । जब समाजले ‘सोच्ने’ कष्ट गर्न छोडेर केवल ‘हेर्ने’ र ‘प्रतिक्रिया दिने’ बानी बसाल्छ, त्यहाँ ‘गवि’ जस्ता वैचारिक पात्रहरू रक्षात्मक बन्छन् र ‘बार’ जस्ता पात्रहरु नायक बन्छन् र स्वाभाविक देखिन्छन् ।
‘सुकिला मुकुन्डो’ भित्रको द्वैध चरित्रः नेपालको मध्यम वर्ग
राजनीतिशास्त्रमा सेमोर मार्टिन लिप्सेटले आफ्नो प्रसिद्ध ‘आधुनिकीकरण सिद्धान्त’ मा भनेका छन् “मध्यम वर्ग लोकतन्त्रको मेरुदण्ड हो।” उनको तर्क थियो कि शिक्षा र आर्थिक स्थिरता भएको मध्यम वर्गले नै अतिवादलाई रोक्छ र उदार लोकतन्त्रलाई टिकाउँछ । तर नेपालको सन्दर्भमा र अहिले विश्वव्यापी रूपमै यो सिद्धान्त उल्टो सावित भइरहेको छ ।
यहाँ मध्यम वर्ग लोकतन्त्रको मेरुदण्ड कम र लोकतन्त्रको घाटी थिच्ने पासो बढी बन्न थालेको छ । नेपालको ‘मध्यम वर्ग’ अहिले मनोवैज्ञानिक रूपमा ‘सिजोफ्रेनिक’ मनस्थितिमा छ । यो वर्गको चरित्र र व्यवहारमा आकाश–जमीनको अन्तरविरोध देखिएको छ र यो बढ्दो क्रममा छ ।
यो वर्ग आफूलाई सबैभन्दा ठूलो लोकतन्त्रवादी ठान्छ । यसलाई बोल्ने स्वतन्त्रता चाहिन्छ, सम्पती जोड्ने अधिकार चाहिन्छ, विदेश घुम्ने पासपोर्ट चाहिन्छ, र निजी क्षेत्रको प्रवर्धन चाहिन्छ । यी सबै ‘गवि’ धारले बोक्ने उदार लोकतान्त्रिक एजेन्डा हुन् । तर व्यवहारमा यो वर्ग ‘घोर दक्षिणपन्थी’ र ‘भीडवादी’ हुँदै गएकोछ । यो वर्गलाई ‘कानूनको शासन’ भन्दा ‘डण्डाको शासन’ मन पर्छ । उदाहरणका लागि, बालेन शाहले सुकुम्वासी बस्तीमा डोजर चलाउँदा मध्यम वर्गले “शहर सफा भयो, अतिक्रमण हटेर बाटो फराकिलो भयो” भनेर ताली बजाउँछ ।
यहाँ उसको लोकतान्त्रिक चेत, मानवअधिकार र समावेशिताको वकालत कहाँ जान्छ ? के लोकतन्त्रमा गरिबको बाँच्ने अधिकार हुँदैन ? तर, जब सरकारले मध्यम वर्गले प्रयोग गर्ने विद्युतीय गाडीमा कर बढाउँछ वा सेयर बजारमा कडाइ गर्छ, वा सामाजिक संजाललाई नियमन गर्न कदम चल्छ तब यही वर्ग “सरकार निरंकुश भयो, लगानीको वातावरण बिग्रियो, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भयो ” भनेर सडकमा आउँछ ।
यसको अर्थ हो, मध्यम वर्गलाई ‘विशेषाधिकार सहितको लोकतन्त्र’ चाहिएको छ । उनीहरू चाहन्छन् कि कानुन गरिब र निमुखालाई लागोस्, तर आफूलाई भने ‘सेटिङ’ मा छुट मिलोस् । अर्कालाई पर्दा ‘एक्सन’ देख्ने र आफूलाई पर्दा ‘अत्याचार’ देख्ने यो चरित्र नै नेपालमा संस्थागत सुधारको मुख्य तगारो हो ।
विश्वव्यापी संरचनात्मक रूपान्तरणः मध्यम वर्गको विविधता र ‘दिगोपन’ को सवाल
राजनीतिक कोलाहलभन्दा अलि पर हटेर हेर्ने हो भने, हामी अहिले मानव इतिहासकै एउटा विशिष्ट र अभूतपूर्व संरचनात्मक परिवर्तनको साक्षी बनिरहेका छौं । तथ्याङ्कहरूले विश्व क्रमशः कम गरिब र बढी मध्यम वर्गीय बन्दै गइरहेको देखाउँछन् । तर, यो परिवर्तन एकनासको छैन ।
नजिकबाट नियाल्दा, त्यहाँ एउटा ‘नयाँ विश्वव्यापी मध्यम वर्ग’ मात्र छैन, बरु धेरै फरक–फरक र विविधतायुक्त ‘बढ्दो मध्यम वर्गहरू’ को उपस्थिति छ । विकसित मुलुकको मध्यम वर्ग ‘स्थिर’ र ‘सुरक्षित’ छ, तर नेपाल जस्तो विकासशील देशको उदीयमान मध्यम वर्ग ‘अस्थिर’ र ‘जोखिमपूर्ण’ अवस्थामा छ ।
यो वर्ग गरिबीको रेखाबाट भर्खरै माथि उठेको छ, जसको आम्दानीको मुख्य स्रोत रेमिट्यान्स वा साना व्यवसाय हो । यो वर्गसँग आकांक्षा आकासिएको छ, तर सुरक्षाको प्रत्याभूति छैन । एउटा सानो आर्थिक मन्दी वा एउटा ठूलो स्वास्थ्य समस्याले यो वर्गलाई पुनः गरिबीको रेखामुनि धकेल्न सक्छ ।
हो, यही बिन्दुमा ‘गवि’ (संस्थागत) र ‘बार’ (पपुलिस्ट) प्रवृत्तिको परीक्षण हुन्छ । ‘बार’ प्रवृत्तिले यो उदीयमान मध्यम वर्गलाई ‘उपभोक्ता’ मात्र मान्छ र उनीहरूको तत्कालको उपभोगको चाहना (जस्तैः सस्तो गाडी, फराकिलो बाटो) पूरा गर्न खोज्छ । तर, ‘गवि’ प्रवृत्तिले यो वर्गको ‘जोखिम’ लाई बुझेको छ ।
मध्यम वर्गलाई पुनः गरिबीमा झर्न नदिनका लागि बलियो सामाजिक सुरक्षा, स्वास्थ्य बिमा र गुणस्तरीय सार्वजनिक शिक्षा चाहिन्छ, जुन ‘गवि’ धारका मुख्य एजेन्डा हुन् । मध्यम वर्गको आकार बढ्दै जाँदा उपभोग बढ्छ, र उपभोगसँगै वातावरणीय चुनौतीहरू थपिन्छन् । अबको विकास भनेको डोजर चलाएर डाँडा काट्नु मात्र होइन, जलवायु परिवर्तनसँग जुध्ने ‘दिगो विकास’ हो ।
नेपालको मध्यम वर्गले उनीहरूको ‘जीवनशैली’ को रक्षा ‘भाइरल भिडियो’ ले गर्न सक्दैन भन्ने बुझ्नुपर्छ । बालेनले फोहोर उठाएर सहर सफा गर्नु राम्रो हो, तर जलवायु परिवर्तन र आर्थिक मन्दीजस्ता विश्वव्यापी संरचनात्मक संकटको सामना गर्न नीतिगत स्थिरता र दूरदृष्टि चाहिन्छ ।
गगन थापाले संसदमा ‘जलवायु आपतकाल’ वा ‘हरित अर्थतन्त्र’ को कुरा उठाउनु केवल बौद्धिक विलास होइन, यो मध्यम वर्गको भविष्यको सुरक्षा कवच हो । त्यसैले, यो विश्वव्यापी संरचनात्मक रूपान्तरणलाई सही दिशा दिन, मध्यम वर्गलाई गतिशील बनाउन र निरन्तरको उपलब्धिको रक्षा गर्न आवेगमा चल्ने नेतृत्व होइन, संस्थागत स्मृति र सुधारवादी दृष्टिकोण बोकेको ‘गवि’ प्रवृत्ति नै आजको अपरिहार्य आवश्यकता हो।
मध्यम वर्गको शक्तिः न्युयोर्कदेखि इरानसम्मको विश्वव्यापी पाठ
विश्व राजनीतिको ट्रेन्ड हेर्ने हो भने मध्यम वर्गको यही चरित्रले धेरै देशमा उथलपुथल ल्याएको छ । मध्यम वर्ग जहाँ उभिन्छ, त्यहीँ सत्ता हल्लिन्छ भन्ने कुराका विश्वव्यापी उदाहरणहरू हामीले मनन गर्नैपर्छ ।
अमेरिकाको न्युयोर्क शहरको हालैका निर्वाचनहरूलाई हेर्दा मध्यम वर्गको चरित्र प्रस्ट हुन्छ । जोहरान मम्दानी जस्ता प्रगतिशील उम्मेदवारहरूको उदय र विजयले मध्यम वर्गले चाहेमा स्थापित शक्तिलाई चुनौती दिन सक्छ भन्ने देखाउँछ । यो मध्यम वर्गको ‘क्रान्तिकारी शक्ति’ हो । तर, अर्कोतर्फ, आफूलाई ‘लिबरल’ र ‘प्रगतिशील’ भन्ने त्यही न्युयोर्कको मध्यम वर्गले जब आफ्नो टोलमा सुरक्षा र ‘ल एण्ड अर्डर’ को कुरा आयो, तब उनीहरूले प्रगतिशील एजेन्डालाई भोट दिए ।
नेपालमा पनि मध्यम वर्ग ठीक यही बिन्दुमा उभिएको छ उसलाई ‘स्वतन्त्रता’ भन्दा ‘सफाई’ र ‘अनुशासन’ प्यारो लाग्न थालेको छ, चाहे त्यो विधि मिचेरै गरिएको किन नहोस् ।
यस्तै इरानको सडकमा भइरहेको आयतुल्लाह खामेनी विरुद्धको आन्दोलनलाई हेरौं । त्यहाँको दमनकारी सत्तासँग जुध्ने आँट इरानको मध्यम वर्गले नै गरिरहेको छ । यसले के देखाउँछ भने, मध्यम वर्ग ‘मौन दर्शक’ मात्र होइन, यो ‘क्रान्तिको ज्वाला’ पनि हो । तर, त्यो ज्वालाले निर्माण गर्छ कि ध्वस्त गर्छ भन्ने कुरा नेतृत्वको चरित्रमा भर पर्छ ।
विश्वव्यापी दृष्टान्तः ‘स्टन्ट’ रोज्ने कि ‘सिस्टम’?
मध्यम वर्गको शक्ति र कमजोरी बुझ्न हामीले एल साल्भाडोरदेखि युक्रेनसम्मका उदाहरण हेर्नुपर्छ । यी देशहरूमा मध्यम वर्गले लिएको निर्णयले त्यहाँको भविष्य कसरी बदल्यो भन्ने कुरा नेपालका लागि ठूलो पाठ हो ।
एल साल्भाडोरमा मध्यम वर्ग असुरक्षा र समूह समूह बिचको झडप र हिंशाबाट वाक्क थियो । उनीहरूले नजिब बुकेलेलाई चुने । बुकेलेले ‘विधि’ र ‘मानवअधिकार’ लाई खोस्दै हजारौंलाई जेल कोचे । शहर सुरक्षित भयो, मध्यम वर्ग खुशी भयो । तर, आज त्यहाँ लोकतन्त्र छैन, ‘निर्वाचित तानाशाही’ छ । अर्जेन्टिनामा आर्थिक मन्दीबाट निराश मध्यम वर्गले ‘चेन–स’ (काठ काट्ने एक प्रकारको हतियार) बोक्ने जाभियर मिलेईलाई चुन्यो ।
उनले “सबै पुराना चोर हुन्, मन्त्रालय नै खारेज गर्छु” भने । नतिजा ; आज अर्जेन्टिनामा महँगी बढेको र सामाजिक सुरक्षाको कटौतीले त्यही मध्यम वर्गलाई रूनु न हाँस्नु बनाएको छ । अफ्रिकाको बुर्किना फासोमा इब्राहिम ट्राओरेले ‘साम्राज्यवाद विरोधी’ र ‘राष्ट्रियता’ को नारा दिए, जसलाई मध्यम वर्ग र युवाले साथ दिए । तर, त्यहाँको अस्थिरता र अन्तर्राष्ट्रिय अलगाव अहिले चरम बिन्दुमा छ । जसले बैदेशिक सहयोग र सद्भावमा कमि आएको छ । यी ‘बार’ प्रवृत्तिका विश्वव्यापी उदाहरण हुन्, जहाँ ‘आवेग’ ले लोकतन्त्रलाई निल्यो ।
यसको विपरित, जहाँ मध्यम वर्गले ‘संस्थागत’ बाटो रोज्यो, त्यहाँको नतिजा फरक छ । चिलीमा विद्यार्थी आन्दोलनबाट आएका गाब्रियल बोरिकले सत्तामा आएपछि बुकेले वा मिलेई जस्तो ‘स्टन्ट’ गरेनन् । उनले संविधान संशोधन र संस्थागत सुधारको कठिन बाटो रोजे । फ्रान्समा इमानुएल म्याक्रोनले ‘पपुलिजम’ र ‘अतिवाद’ विरुद्ध ‘मध्यमार्गी’ बाटो रोजे । उनीहरू लोकप्रिय नहोलान्, तर उनीहरूले आफ्नो देशको लोकतन्त्र र प्रणालीलाई सुरक्षित अवतरण गराए । यो ‘गवि’ प्रवृत्तिको विश्वव्यापी उदाहरण हो ।
यसमा सबैभन्दा गम्भीर पाठ युक्रेन, श्रीलंका र बंगलादेशबाट सिक्न सकिन्छ । युक्रेनी मध्यम वर्गले परम्परागत राजनीतिज्ञहरूको विकल्पमा ‘कमेडियन’ भेलोडिमिर जेलेन्स्कीलाई चुन्यो । उनी पोलिटिकल ‘आउटसाइडर’ थिए ।
उनको साहस अतुलनीय छ, तर भू–राजनीतिक यथार्थवादीहरू प्रश्न गर्छन् अहिले पनि प्रश्न गर्छन यदि युक्रेनमा कूटनीति र ‘स्टेटक्राफ्ट’ बुझेको परिपक्व नेतृत्व भएको भए, देशलाई युद्धको विनाशबाट बचाउन सकिन्थ्यो कि ? भावनामा बगेर गरिने निर्णयले राष्ट्रको भूगोल नै संकटमा परेको तर्क गर्छन् ।
श्रीलंकामा ‘अरागलाय’ आन्दोलनले राष्ट्रपति भवन कब्जा त गर्यो, तर नेतृत्वमा ‘विचार’ र ‘योजना’ नहुँदा देश फेरि पुरानै दलको शरणमा पुग्नुपर्यो । बंगलादेशमा शेख हसिनाको शाषन विरुद्ध विद्यार्थी र मध्यम वर्ग उर्लियो, सत्ता परिवर्तन भयो, तर अहिले त्यहाँको अवस्था कट्टरपन्थीहरूको उदय र अस्थिरतामा फसेको छ । यी उदाहरणहरूले पुष्टि गर्छन् कि ‘आवेग’ ले सत्ता ढाल्नसक्छ, तर देश बनाउन ‘विचार’, ‘विधि’ र ‘अनुभव’ नै चाहिन्छ ।
नोस्टाल्जियाको अन्त्यः किन नयाँ पुस्ता ‘इतिहास’ मान्दैन ?
नेपालमा अहिले मध्यम वर्ग र नयाँ पुस्ताले पुराना दलहरूको ‘योगदान’ लाई किन मानिरहेको छैन ? हामीलाई यस्तो लाग्छ तर यो विश्वव्यापी ट्रेन्ड हो । बंगलादेशमा शेख हसिनाले १९७१ को स्वतन्त्रता संग्रामको ‘नोस्टाल्जिया’ बेचिन्, दक्षिण अफ्रिकामा अफ्रिकन नेशनल कंग्रशले रंगभेद विरोधी आन्दोलनको ब्याज खायो । तर, नयाँ पुस्ताले भन्यो “ती पुराना कुरा हुन्, आज मलाई रोजगारी दे, सुशासन दे।” नेपालमा पनि कांग्रेस र एमालेले “हामीले राणा फाल्यौं, राजा फाल्यौं, जेल बस्यौं” भन्छन् ।
यी सबै सत्य हुन् अकाट्य पनि हो तर, २० वर्षको युवाका लागि लोकतन्त्र र गणतन्त्र ‘उपलब्धि’ होइन, ‘जन्मसिद्ध अधिकार’ हो । उ लोकतन्त्रको आगनमा जन्म्यो त्यसैमा हुर्कियो । उसलाई इतिहासको ब्याज तिर्नु पनि छैन, तर उसलाई भविष्यको लगानी चाहिएको छ । उसले नेतालाई ‘शहीद’ को रूपमा होइन, ‘सीईओ’ को रूपमा हेर्न चाहन्छ बालेन र रविले आफूलाई ‘सीईओ’ को रूपमा प्रस्तुत गरे, त्यसैले उनीहरू चर्चित भए । गगन र विश्वले ‘नोस्टाल्जिया’ को भारी बोके, त्यसैले उनीहरू पछि परे ।
डेलिभरीको भ्रमः ‘पेनकिलर’ खाने कि ‘सर्जरी’ गर्ने?
अहिले नेपाली समाज ‘डेलिभरी’ को बहसमा नराम्ररी अल्झिएको छ । यहाँ हामीले ‘पेनकिलर’ र ‘सर्जरी’ बीचको अन्तर बुझ्न जरुरी छ । ‘बार’ प्रवृत्तिले जनतालाई ‘पेनकिलर’ दिइरहेको छ । टाउको दुख्दा सिटामोल खाएजस्तै ५ मिनेटमा राहत । सहरमा फोहोर देखियो ? उठाउ । फुटपाथमा मान्छे देखियो? लखेट । कर्मचारीले काम गरेन? थक्र्याउ । यो शैलीले तत्काल नतिजा दिन्छ । जनता ताली बजाउँछन् । तर, के यसले समस्याको जरो उखेल्यो त ? भएन । पेनकिलरले रोग निको पार्दैन, दुखाइ मात्र भुलाउँछ ।
अर्कोतर्फ, ‘गवि’ प्रवृत्तिले ‘सर्जरी’ को वकालत गर्छ । उनीहरू भन्छन् ‘समस्याको जरा पत्ता लगाऔं, कानुन संशोधन गरौं, विधि बनाऔं र अनि कारबाही गरौं’। सर्जरी गर्दा समय लाग्छ, रगत बग्छ, बिरामीलाई गाह्रो हुन्छ र निको हुन समय लाग्छ । गगन–विश्वले संसद्मा दर्ता गराएका सङ्कल्प प्रस्तावहरू, समितिमा गरेका छलफलहरू र कानुन निर्माणमा देखाएको सक्रियता ‘सर्जरी’ को तयारी हो ।
तर, हतारमा रहेको समाजले डाक्टरले चक्कु उध्याउँदै गरेको समयलाई ‘ढिलासुस्ती’ भनेर बुझ्यो । मध्यम वर्गलाई लाग्यो “यिनीहरूले गफ मात्र गरे ।” सत्य के हो भने– विधि मिचेर ल्याएको विकास ‘बालुवाको महल’ हो, जो एउटा सानो कानुनी वा राजनीतिक धक्काले भत्किन सक्छ । तर, विधि पु¥याएर गरिएको सुधार ढिलो भए पनि चट्टान जस्तै बलियो हुन्छ ।
भू–राजनीतिको अग्निपरीक्षाः चुच्चे नक्शा र कूटनीतिक डेडलक
नेपालको राजनीति केवल आन्तरिक फोहोर सफा गर्ने विषय होइन । यो दुई उदाउँदा महाशक्ति चीन र भारत तथा विश्व महाशक्ति अमेरिकाको सामरिक स्वार्थ ठोक्किने ‘जियोपोलिटिकल हटस्पट’ हो । यहाँ पनि ‘गवि’ र ‘बार’ बीचको अन्तर आकाश–जमीनको जस्तो छ । विशेष गरी नेपालको ‘चुच्चे नक्सा’को प्रसंग यहाँनेर निर्णायक छ । नेपालले लिम्पियाधुरासहितको नक्सा संविधानको अनुसूचीमै राखिसकेको छ । यो अब कुनै प्रधानमन्त्रीको आदेशले हट्ने विषय रहेन ।
यो नेपालको ‘संवैधानिक यथार्थ’ हो । तर, अर्को यथार्थ के हो भने– भारतले यो नक्सालाई स्वीकार गरेको छैन । जबसम्म यो नक्साको विवाद रहन्छ, भारतसँगको सम्बन्ध ‘हार्दिक’ हुन असम्भव प्रायः छ । सम्बन्ध ‘औपचारिक’ होला, तर ‘विश्वासपूर्ण’ हुँदैन । भारतसँग सम्बन्ध चिसो रहँदा स्वाभाविक रूपमा नेपालमा ‘शक्ति शून्यता’ सिर्जना हुन्छ, जहाँ चीन र अमेरिका सक्रिय हुन्छन् । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा सीमा विवाद र नक्साको कुरा राख्नु सामान्य परिघटना होइन ।
यसले नेपाललाई भारतको ‘अघोषित नाकाबन्दी’ जस्तो चिसोपन, चीनको ‘रणनीतिक सक्रियता’ र अमेरिकाको ‘दबाब’ को त्रिवेणीमा फसाएको छ ।यो ‘डेडलक’ तोड्न कस्तो नेतृत्व चाहिन्छ ? यहाँनेर ‘बार’ प्रवृत्तिको ठूलो जोखिम छ । जसको राजनीति ‘स्टन्ट’ र ‘भाइरालिटी’ मा अडिएको छ, उनीहरूले यो नक्सा प्रकरणलाई ‘उग्र राष्ट्रवाद’ को मसला बनाउने उच्च जोखिम हुन्छ ।
फेसबुकमा नक्सा राखेर वा भारतलाई गाली गरेर ‘लाइक्स’ त आउला, तर के त्यसले समस्या समाधान हुन्छ? उल्टो, अपरिपक्व कूटनीतिले देशलाई द्वन्द्वमा फसाउन सक्छ । युक्रेनमा जेलेन्स्कीको अनुभवहीनताले जसरी भू–राजनीतिक सन्तुलन बिग्रियो, नेपालमा पनि पपुलिस्ट नेतृत्वले यस्तै गल्ती गर्न सक्छन् ।
राज्य सञ्चालन केटाकेटीको खेल होइन । यो ‘डेडलक’ तोड्नका लागि ‘स्टेटम्यानसिप’ चाहिन्छ । नक्शा कायम राख्दै, भारतसँग ‘विश्वास’ पुनःस्थापित गर्न ‘ब्याक च्यानल डिप्लोमेसी’, ‘संयमता’ र ‘रणनीतिक धैर्यता’ चाहिन्छ । गगन थापा र विश्वप्रकाश शर्माहरूसँग बी.पी. कोइरालाको कूटनीतिक स्कुलिङ छ । उनीहरूले संसदमा एमसीसी वा नक्सा प्रकरणमा देखाएको परिपक्वताले के सङ्केत गर्छ भने ‘यो भू–राजनीतिक गाँठो फुकाउन ‘बार’ को आवेग होइन, ‘गवि’ को विवेक नै चाहिन्छ ।’
गगन–विश्वको चुनौतीः ‘सबै चोर हुन्’ भन्ने अल्छी भाष्य
तर विडम्बना के छ भने, गगन–विश्वका लागि फलामको चिउरा मध्यम वर्गको ‘बौद्धिक आलस्य’ हो । मध्यम वर्गले एउटा सजिलो र अल्छी भाष्य निर्माण गरेको छ त्यो हो “पुराना पार्टीका सबै नेता चोर हुन् ।” यो सामान्यीकरण नै गगन–विश्वको बाटोको मुख्य तगारो हो । जब गगन थापाले संसदमा उभिएर घण्टौं लगाएर अध्ययन गरेको, तथ्यांकसहितको र देशलाई दूरगामी प्रभाव पार्ने कानुनको मस्यौदाबारे बोल्छन्, मध्यम वर्गले त्यसलाई सुन्दैन । किनकि मध्यम वर्गको आँखामा गगन थापा ‘गगन थापा’ होइनन्, उनी त ‘३० वर्ष शासन गर्ने कांग्रेसको एक अंग’ मात्र हुन् ।
उनीहरूले गगनको विवेक र क्षमतालाई ‘कांग्रेस’ को मक्किएको ब्रान्डिङले छोपिदिएका छन् । मध्यम वर्ग अहिले ‘जेन जी’ आन्दोलनको स्वामित्व लिन्छ । तर जब आन्दोलनमा तोडफोड हुन्छ, उसले ‘घुसपैठ’ देख्छ । जब बालेनले विधि मिच्छन्, मध्यम वर्गले त्यसलाई ‘आवश्यकताको सिद्धान्त’ भन्छ । तर जब गगनले संविधान संशोधन गरेर निकास खोज्ने कुरा गर्छन्, मध्यम वर्गले त्यसलाई ‘षड्यन्त्र’ देख्छ । विधिको शासनलाई आफ्नो सुविधा अनुसार व्याख्या गर्ने यो मध्यम वर्गीय रोगले नै ‘गवि’ को संस्थागत सुधारको एजेन्डालाई कमजोर बनाइरहेको छ, बनाउँछ पनि ।
अबको निकासः सन्तुलन र खबरदारीको बाटो
हामीले धेरै समस्याको कुरा ग¥र्याै अब समाधान के त? के अब गगन–विश्वले राजनीति छोड्ने ? वा बालेन–रविले मात्र देश चलाउने? पक्कै होइन । निकास ‘निषेध’ मा छैन, निकास ‘सन्तुलन’ र ‘सुधार’ मा छ । हामीलाई एउटा यस्तो बाटो चाहिएको छ, जहाँ ‘बालेनको गति’ र ‘गगनको मति’ को मिलन होस् । तर, यी दुई प्रवृत्ति परस्पर विरोधी हुन् । ‘बार’ प्रवृत्तिलाई सुधारेर संस्थागत बनाउनु भनेको ‘बाघलाई घाँस खान सिकाउनु’ जस्तै गाह्रो र जोखिमपूर्ण छ । जसको जग नै ‘एन्टी–सिस्टम’ छ, उसले सिस्टम बनाउँछ भनेर सोच्नु मूर्खता हो । त्यसैले, व्यावहारिक, सुरक्षित र वैज्ञानिक बाटो भनेको ‘गवि’ (संस्थागत धार) मा ‘गति’ भर्नु हो ।
गगन–विश्वसँग इन्जिन छ, लिक छ र ड्राइभिङको अनुभव छ । समस्या केवल यो हो कि उनीहरू सुस्त छन्, उनीहरूमा ‘कम्फर्ट जोन’ छ र पुराना नेताको भारी छ । अब मध्यम वर्ग र नागरिक समाजको भूमिका यहाँनेर आउँछ । हामीले गगन–विश्वलाई गाली गरेर वा तिरस्कार गरेर होइन, उनीहरूलाई ‘सचेत हस्तक्षेप’ गरेर गति बढाउन बाध्य पार्नुपर्छ । मध्यम वर्गले न्युयोर्कमा जसरी ‘प्रगतिशील’ परिवर्तन रोज्यो, नेपालमा पनि मध्यम वर्गले ‘पपुलिस्ट’ होइन ‘सिस्टमेटिक’ परिवर्तन रोज्नुपर्छ ।
मध्यम वर्गलाई अन्तिम आह्वान
नेपालको मध्यम वर्गलाई एउटा निर्मम प्रश्न सोध्न जरुरी छः तिमी के चाहन्छौ ? ५ मिनेटको मनोरन्जन कि ५० वर्षको सुरक्षा ? तिमी अहिले ‘कम्फर्ट जोन’ मा बसेर रमिता हेर्दैछौ । तिमीलाई लाग्छ, “बालेनले फोहोर उठाइदिए पुग्यो, रविले घण्टी बजाए पुग्यो।” तर, यो आंशिक तुष्टीको नशा खतरनाक छ । यदि तिमीले आज जसरी ‘प्रक्रिया’ र ‘विधि’ लाई लत्याएर ‘एक्सन’ को नाममा अराजकता र भीडतन्त्रलाई मलजल गरिरहेका छौ, याद राख– भोलि आगो लाग्दा सबैभन्दा पहिले जल्ने घर तिम्रै हो । धनाढ्यहरू देश छोड्लान्, गरिबहरूसँग गुमाउन केही छैन, तर तिम्रो सानो घर, सानो जागिर, बैंक ब्यालेन्स र छोराछोरीको भविष्य यही ‘सिस्टम’ मा अडिएको छ ।
गगन थापा र विश्वप्रकाश शर्माहरू तिम्रा लागि ‘विकल्प’ होइनन्, उनीहरू तिम्रा ‘बाध्यता’ हुन् । किनकि, उनीहरूले बोकेको ‘विचार’ (उदार लोकतन्त्र, कानूनि राज, सामाजिक न्याय) नै तिम्रो अस्तित्वको रक्षाकवच हो । उनीहरू व्यक्तिमा कमजोरी हुन सक्छ, उनीहरूको गति सुस्त हुन सक्छ, तर उनीहरूले प्रतिनिधित्व गर्ने ‘प्रणाली’ को कुनै विकल्प छैन । अबको निकास भनेको ‘बार’ को पछि अन्धभक्त भएर दौडनु होइन । अबको निकास भनेको मध्यम वर्गले आफ्नो ‘नकारात्मकता’ को चस्मा खोलेर गगन–विश्वलाई ‘तगारो’ बनेर रोक्ने होइन, उनीहरूलाई खबरदारीसहितको ‘सिँढी’ बनेर माथि चढाउनुपर्छ । उनीहरूलाई भन्नुपर्छ “हामी तिमीहरूको विचारको पक्षमा छौं, तर तिमीहरूको कार्यशैली बदल । हामीलाई विधिको शासन चाहिन्छ, तर कछुवा गतिमा होइन ।”
जब नेपालको मध्यम वर्गले आफ्नो ‘पाखण्ड’ त्यागेर विवेकपूर्ण निर्णय लिन्छ, तब मात्र ‘गवि’ को विचार र ‘बार’ को गतिको सही सन्तुलन मिल्नेछ । बंगलादेश र श्रीलंकाको मध्यम वर्गले जस्तै आवेगमा आएर ‘भत्काउने’ मात्र काम नगर । युक्रेनको मध्यम वर्गले जस्तै भू–राजनीति नबुझ्ने ‘नायक’ नछान । बरु, चिली र फ्रान्सको मध्यम वर्गले जस्तै ‘सुधार’ र ‘स्थायित्व’ को बाटो रोज । बालेन र रवि तिम्रा ‘आक्रोश’ हुन्, तर गगन र विश्व तिम्रा ‘भविष्य’ हुन् ।
आक्रोशले सत्ता ढाल्न सक्छ, तर भविष्य बनाउन ‘विचार’, ‘विधि’ र ‘अनुभव’ नै चाहिन्छ । तिमीले आज ‘गवि’ लाई छोड्यौ भने, भोलि तिमीले बोल्ने अधिकार, सम्पत्तिको सुरक्षा र विश्वमञ्चमा नेपालको अस्तित्व गुमाउन सक्छौ । त्यसैले, भावनामा होइन, विवेकमा भोट हाल । ‘स्टन्ट’ को पछि नलाग, ‘सिस्टम’ लाई बलियो बनाउ । इतिहासले तिमीलाई प्रश्न सोधिरहेको छः तिमी ‘भीड’ को हिस्सा बन्छौ कि ‘विवेक’ को वाहक? निर्णय तिम्रो हातमा छ ।


प्रतिक्रिया दिनुहोस्