चालु आर्थिक वर्षमा धान उत्पादनमा ४.२ प्रतिशतले कमी, उत्पादन ५७ लाख मेट्रिक टन पुग्ने अनुमान


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आ.व. २०८२/८३ को धान उत्पादन अनुमान सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा धान बाली भित्रिएको क्षेत्रफल र उत्पादनमा कमी आउन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रारम्भिक तथ्याङ्क अनुसार आ.व. २०८१/८२ मा १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो भने चालु वर्षमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८ सय ७२ हेक्टरमा सीमित हुने अनुमान गरिएको छ।

यसैगरी, गत वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन भएकोमा चालु वर्षमा ४.२० प्रतिशतले कमी आएर ५७ लाख ५ हजार १ सय २६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ।

धानको उत्पादकत्व पनि केही घटेको छ। गत वर्ष हेक्टरप्रति ४.१९ मेट्रिक टन रहेको उत्पादकत्व चालु वर्षमा ४.१४ मेट्रिक टन हुने अनुमान गरिएको छ।

धान बालीको क्षेत्रफल र उत्पादनमा कमी आउनुको मुख्य कारणमा पहाडी क्षेत्रमा बसाइसराइ, युवाहरूको विदेश प्रतिको आकर्षण, फलफूल तथा नगदेबालीको वृद्धि, तराई र शहरी क्षेत्रमा आप्रवासन, जमिनको औद्योगिक तथा पूर्वाधार निर्माणमा प्रयोग, र मधेश प्रदेशमा धान रोपाइँको समयमा परेको खडेरी रहेका छन्।

मन्त्रालयले अनुसार यस आर्थिक वर्षमा उन्नत बीउ, बिजन र मलखादको पर्याप्त उपलब्धता भए पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको हो।

मन्त्रालय प्रवक्ता डा. जानुकी पण्डितका अनुसार धान उत्पादनमा आएको कमीले समग्रमा खाद्य सुरक्षामा असर पर्ने भएकाले किसान र योजनाकारहरूले यसको सुधारका लागि ध्यान दिनुपर्ने आवश्यकता रहेको छ।