उद्योग वाणिज्य महासङ्घमा चुनावी माहाेल : अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठबिच ३/२ को फर्मुला असफल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव नजिकिदै गर्दा उद्योगी व्यवसायीहरूबिच चलखेल तीव्र बनेको छ ।

प्रतिनिधि सभाको चुनावले केही ओझेलजस्तो देखिए पनि उद्योगी व्यवसायीको सबैभन्दा ठुलो संस्था र सरकारपछिको ठुलो सञ्जाल मानिएको महासङ्घको विभिन्न तहको नेतृत्वबारे आन्तरिक छलफल जारी छ ।

आगामी चैत अन्तिमसाता हुने साधारण सभा र नेतृत्व चयनबारे विभिन्न प्रयासहरू भइरहेको छ ।

अध्यक्ष ढकालको ‘फर्मुला’ असफल

वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ उद्योग वाणिज्य महासङ्घ स्वत : अध्यक्ष बन्ने छन् । विधान परिवर्तन भइसकेकाले श्रेष्ठपछि वरिष्ठ उपाध्यक्ष स्वत : अध्यक्ष बन्न पाउने छैनन् ।

अब वरिष्ठ उपाध्यक्ष बन्ने व्यक्ति अर्को चुनावका लागि अध्यक्षको दाबेदार बन्ने ‘पोर्टफोलियो’ मात्रै हुने छ ।

वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठबिच सम्बन्ध खासै सुमधुर नभएको टिप्पणी हुने गरेको छ । स्रोतका अनुसार ढकालले आगामी कार्यसमितिलाई सर्वसम्मत बनाउने प्रयास गरेका थिए ।

ढकालले केही समय पहिले ४ उपाध्यक्षमध्ये २ उपाध्यक्ष आफूलाई दिन र वरिष्ठ उपाध्यक्ष र २ उपाध्यक्ष राख्न प्रस्ताव गरेका थिए ।

संसोधित नयाँ विधानअनुसार वस्तुगत १, एसोसिएट १ र जिल्ला/नगरबाट २ उपाध्यक्ष रहने व्यवस्था छन् । एक जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था छ ।

अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यक्ष श्रेष्ठलाई दिन र आफू निकटका २ जनालाई उपाध्यक्ष बनाउने विषयमा छलफल चलाएका थिए । यति गरे महासङ्घमा सबैमा सर्वसम्मत हुने ढकालको विश्वास थियो ।

श्रेष्ठले भने आफू अध्यक्ष हुँदा आफूअनुकुलको कार्यसमिति चाहिने भन्दै ढकालको प्रस्ताव अस्वीकार गरेका थिए । चुनावी परिणामले के दिन्छ भन्ने टुङ्गो नभए पनि श्रेष्ठ पद बाँडफाँट गर्न तयार नभएको देखिएको छ ।

उपाध्यक्षका आकाङ्क्षी कोको ?

महासङ्घमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षबिच सहमति नभएपछि चुनावी तयारी सुरु भइसकेको छ । अझै प्यानल घोषणा नभए पनि आन्तरिक तयारी तीव्र छ ।

अञ्जन श्रेष्ठ पक्षबाट वस्तुगतमा शिव घिमिरे र एसोसिएटबाट प्रबलजङ्ग पाण्डे खुलेका छन् ।

अध्यक्ष ढकाल समूहबाट वस्तुगतमा नरेशलाल श्रेष्ठ उम्मेदवार छन् भने एसोसिएट तर्फ टङ्गो लागेको छैन । पाण्डेले निर्विरोधको अपेक्षा राखे पनि ढकाल समूहले उनीविरुद्ध बलियो उम्मेदवारको खोजी गरिरहेको छ ।

वरिष्ठ उपाध्यक्षको आकाङ्क्षी ?

महासङ्घमा अब वरिष्ठ उपाध्यक्ष स्वत : अध्यक्ष हुने व्यवस्था हटेको छ । यद्यपी वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि अध्यक्षको उम्मेदवारको दाबेदार वा निर्विरोध निर्वाचित हुने अबसर पाउन सक्ने छ ।

अब वरिष्ठ उपाध्यक्ष कार्यसमितिबाट चयन हुने छ । वरिष्ठ उपाध्यक्ष हुनका लागि महासङ्घको कार्यकारिणी समितिमा सदस्यको रूपमा कम्तीमा तीन कार्यकाल सदस्य भैसकेको वहालवाला सदस्य वा महासङ्घ कार्यकारिणी समितिमा पदाधिकारी भइसकेको हुनुपर्ने उल्लेख छ ।

यसपटक वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र साङ्घाई, ज्योत्सना श्रेष्ठ, सुरकृष्ण श्रेष्ठ, हेमराज ढकाल र दिनेश श्रेष्ठ आकाङ्क्षी छन् ।

वस्तुगत उपाध्यक्षको तयारी गरिका घिमिरे पनि फेरि वरिष्ठ उपाध्यक्ष लड्ने मनस्थितिमा छन् ।

कार्यसमितिमा जसको बहुमत छ सोही समूहको व्यक्ति वरिष्ठ उपाध्यक्ष हुने छ । कुन समूहले कसलाई अगाडि सार्छ यसबारे भने अझै प्रष्ट भएको छ ।