दशैंका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा नयाँ नोट पठाएको छ । राष्ट बैंकले दशैं तिहारलाई लक्षित गर्दै ३ अर्ब ६० करोड बराबरको नयाँ नोट बजारमा पठाएको जनाएको छ ।

मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार दसैँतिहारका लागि बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ६० करोड रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको हो।

नेपालका अनुसार ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको र केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।

गत वर्षको दशैतिहारमा राष्ट्र बैंकले नोट सटही गरे पनि कोरोना संक्रमणका कारण नयाँ नोट वितरण गरेको थिएन ।

नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सातवटै प्रदेशको प्रादेशिक कार्यालय सहटीको व्यवस्था गरिएको पनि नेपालले बताए।

नेपालका अनुसार एक जना व्यक्तिले बढीमा १८ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउनेछन् ।