राष्ट्रपति पौडेल माघ १८ गते जापान भ्रमणमा जाने, नेपाल प्रहरीको रासन रकम वृद्धि


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा जाने भएका छन् । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल माघ १८ देखि २१ गतेसम्म तीन दिने जापान भ्रमणमा जानेछन्।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीसँग सम्बन्धित महत्वपूर्ण निर्णय पनि गरेको छ । गृहमन्त्री अर्यालले नेपाल प्रहरीको रासन स्केल तथा रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार २०८२ माघ १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गरिनेछ ।

सरकारको यस निर्णयले नेपाल प्रहरीका कर्मचारीको जीवनयापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।