काठमाडौँ । आचारसंहिता उल्लङ्घनको आरोपमा मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार सुनील शर्माविरुद्ध दर्ता गरिएको उजुरीबारे प्रक्रिया अघि बढेको छ। सुन्दरहरैचामा रहेको यमबुद्ध फाउन्डेसनलाई १० लाख रुपैयाँ सहयोग दिने प्रतिबद्धता जनाएको विषयलाई लिएर उजुरी दर्ता गराइएको थियो।
उजुरीकर्ता आफैँ आज निर्वाचन आयोगको प्रदेश कार्यालय विराटनगर पुगेर निर्वाचन अधिकृत चोलाराज दंगालसँग भेट गरी उक्त विषयमा पुनःस्मरण गराएका छन्।
भेटका क्रममा निर्वाचन अधिकृत दंगालले निर्वाचन आचारसंहिता विपरीत मतदाता प्रभावित पार्ने कुनै पनि कदम गलत हुने स्पष्ट पार्दै यस विषयमा अनुसन्धान तथा स्पष्टीकरणका लागि कोष तथा लेखा नियन्त्रक टोमनाथ उप्रेती र मोरङ जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई जिम्मेवारी तोकिएको जानकारी गराएका छन्।
उजुरीकर्ताले दुवै जिम्मेवार अधिकारीलाई फोनमार्फत पुनःस्मरण गराउनुका साथै आवश्यक प्रमाणहरू ह्वाट्सएपमार्फत उपलब्ध गराइसकेको बताएका छन्। सम्बन्धित अधिकारीहरूले उम्मेदवार सुनील शर्मालाई भोलि निर्वाचन कार्यालयमा बोलाई स्पष्टीकरण लिने प्रतिबद्धता जनाएका छन्।
यसैबिच सुनील शर्माले पथरी शनिश्चरेस्थित शान्ति किर्तन समूहलाई अघिल्लो निर्वाचनमा भवन निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए पनि रकम नदिएको र यसपटक पुनः दिने बाचा गरेको किर्तन मण्डलीका अध्यक्ष परशुराम काफ्लेले बताएका छन्। उक्त विषयले पनि आचारसंहिता उल्लङ्घनको आशंका थप बलियो बनाएको छ।


प्रतिक्रिया दिनुहोस्