काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
निगमका अनुसार आइतबार बिहानदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरिएको हो भने पेट्रोल तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरिएको छ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्यमा कुनै परिवर्तन नगरेको स्पष्ट पारेको छ ।
निगमले सार्वजनिक गरेको विज्ञप्तिमा इन्डियन आयल कर्पोरेसनबाट ३१ जनवरी २०२६ (माघ १७, २०८२) मा प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको उल्लेख छ ।
विज्ञप्तिअनुसार प्रतिलिटर पेट्रोलको खरिद मूल्य १२ पैसाले, डिजेलको ४ रुपैयाँ ६६ पैसाले र एलपी ग्यास सिलिन्डरको ४५ रुपैयाँ ४९ पैसाले बढेर आएको छ । यद्यपि उपभोक्तालाई पर्ने असरलाई ध्यानमा राख्दै पेट्रोल र ग्यासको खुद्रा मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
हवाई इन्धनतर्फ भने मूल्य घटाइएको छ । आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धन प्रतिलिटर एक रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर सात अमेरिकी डलरले मूल्य घटाइएको निगमले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्