नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री अर्याल


काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई केवल दूरसञ्चार सेवा प्रदायक मात्र नभइ राज्यको डिजिटल मेरुदण्डका रूपमा स्थापित संस्था भएको बताएका छन् ।

बिहीवार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सव समारोहमा बोल्दै गृहमन्त्री अर्यालले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच विस्तार गरेर टेलिकमले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाउँदै आएको उल्लेख गरेका हुन्।

प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा नेपाल टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको उनको भनाइ छ। उनले हाल दूरसञ्चार सेवा व्यवसाय मात्र नभई मानव जीवनको आधारभूत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भइसकेको स्पष्ट पारे ।

गृहमन्त्री अर्यालले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएको उल्लेख गर्दै त्यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने बताए । सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकास र स्थायित्वको आधारस्तम्भ भएको उनको धारणा छ। आगामी दिनमा पनि ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अत्याधुनिक सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

प्रतिस्पर्धी बजारमा नेपाल टेलिकमले आफ्नो सार्वजनिक दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनलाई सन्तुलनमा राख्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने गृहमन्त्री अर्यालको भनाइ छ।

कम्पनीको वृहत सञ्जाल, पूर्वाधार, दक्ष मानव संसाधन तथा बजार सम्भावनाको कुशल व्यवस्थापनमार्फत प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न उनले आग्रह गरे।

उनका अनुसार नेपाल टेलिकमले सेवा विस्तारसँगै डिजिटल विभाजन न्यूनीकरण, डिजिटल साक्षरता प्रवर्द्धन, विद्युतीय सरकारको अवधारणा कार्यान्वयन तथा ज्ञानमा आधारित समाज निर्माणमार्फत राष्ट्र निर्माणमा योगदान दिँदै आएको छ।

सार्वजनिक सेवा सरकार र नागरिकलाई जोड्ने सेतु भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले नागरिक र सरकारबिचको सम्बन्ध थप सुदृढ बनाउन नेपाल टेलिकमको भूमिका आगामी दिनमा अझ महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।