काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका स्थानीय तहमा कार्यरत कृषि तथा पशुसेवा प्राविधिकहरूको विस्तृत विवरण सङ्कलन गर्न प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयअन्तर्गत बजेट तथा कार्यक्रम शाखाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै ‘एक गा.वि.स. एक प्राविधिक’ कार्यक्रम तथा स्थानीय तहमा परिचालित कृषि स्नातक र पशु चिकित्सकहरूको विवरण उपलब्ध गराउन सबै स्थानीय तहहरूमा आवश्यक परिपत्र गर्न अनुरोध गरेको हो।
आर्थिक वर्ष २०७२/७३ मा लागू गरिएको ‘एक गाउँ विकास समिति, एक प्राविधिक’ कार्यक्रमअनुसार साविकका गाउँ विकास समितिमा करारमा नियुक्त भई हाल राज्य पुनर्संरचनापछि सम्बन्धित स्थानीय तहमा सेवा निरन्तरता दिँदै आएका रा.प.अन. द्वितीय श्रेणीका प्राविधिक सहायकहरूको विवरण माग गरिएको मन्त्रालयले जनाएको छ।
साथै, चालु आर्थिक वर्षका लागि स्वीकृत ‘स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि, २०८२’ अनुसार कृषि स्नातक तथा पशु चिकित्सक पदमा करार नियुक्त भई कार्यरत कर्मचारीहरूको विवरण पनि सङ्कलन गरिनेछ।
मन्त्रालयले कर्मचारीको नाम, श्रेणी वा तह, सेवा/समूह, इमेल ठेगाना, सम्पर्क नम्बर र कैफियत खुल्ने गरी तोकिएको ढाँचामा विवरण पठाउन निर्देशन दिएको छ। सो विवरण २०८२ साल फागुन १० गतेभित्र बजेट तथा कार्यक्रम शाखाको इमेल ठेगाना ([email protected]) मा पठाउनुपर्नेछ।
यसका साथै, उल्लेखित निर्देशिका तथा कार्यविधिअनुसार नियुक्त भएका ‘एक गा.वि.स. एक प्राविधिक’, कृषि स्नातक र पशु चिकित्सकहरूको नियुक्तिपत्र तथा करार सम्झौता नवीकरणको छायाप्रति अनिवार्य रूपमा संलग्न गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार यस विवरण सङ्कलनले स्थानीय तहमा कृषि तथा पशुपन्छी सेवा प्रवाहको वास्तविक अवस्था बुझ्न, जनशक्ति व्यवस्थापनलाई व्यवस्थित गर्न तथा आगामी नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्